२५ जेठ २०८३, सोमबार

मल नपाउँदा उत्पादन घट्ने चिन्ता

भदौ २७, २०७७
मल नपाउँदा उत्पादन घट्ने चिन्ता

कर्णालीमा गत असारदेखि नै रासायनिक मल (युरिया) अभाव भएपछि वीरेन्द्रनगर नगरपालिका–११ का किसान कलवीर चौधरीलाई उत्पादन घट्ने चिन्ताले सताएको छ । रोपाइँ गर्ने बेलादेखि नै मलको अभाव झेलेका उनले यसपटक वर्षभरि पुग्ने खाद्यान्न उत्पादन नहुने गुनासो गरे ।

अधियाँमा धान खेती गरेका वीरेन्द्रनगर–३ का कमल रिजालले गोडमेल गर्नुपर्ने बेलाको धान पहेंलिँदा पनि मल पाएनन् । ‘अहिलेको जस्तो दुःख त कहिल्यै भएन,’ उनले भने, ‘रोप्ने बेलामा पनि मल थिएन, गोडमेल गर्ने बेलामा पनि मल छैन ।’

चौधरी र रिजाल जस्तै सुर्खेतका किसान अहिले मल नपाउँदा कृषि सामग्री केन्द्र, जिल्ला कृषि कार्यालय र अघिल्ला वर्षहरूमा मल वितरण गर्दै आएका सहकारीमा दैनिक धाइरहन्छन् । तर मल नपाउँदा रित्तो हात फर्कनुपरेको छ । जताततै अभाव भएपछि स्थानीयस्तरमा मल बिक्रीका लागि अनुमति पाएका सहकारी संस्थाले मल उपलब्ध गराउन नसकेका हुन् ।

धान गोडमेल गर्ने सिजन सुरु भए पनि मलबिनै खेत गोडमेल गर्नुपरेपछि किसानलाई उब्जनी कम हुने चिन्ता छ । कोरोना भाइरसका कारण सरकारले ४ महिना लामो लकडाउन गरेपछि मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । देशभर रासायनिक मलको अभाव भएकाले कर्णालीमा पनि प्रभाव परेको लिमिटेडको प्रादेशिक कार्यालयका प्रमुख टोपाराम गौतमले बताए । ‘युरिया त असारदेखि नै छैन,’ उनले भने, ‘डीएपी र पोटास मल भैरहवा आइपुगेको छ ।’

उनका अनुसार वीरेन्द्रनगरस्थित मंगलगढी चोकबाट बसपार्क हुँदै गोदामसम्म आइपुग्ने बाटो कालोपत्र हुन लागेकाले भैरहवाबाट मल ल्याउन समस्या भएको छ । अघिल्ला वर्षहरूमा यतिबेला कम्पनीमा करिब डेढ सय टन मल ढुवानी हुन्थ्यो । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्