
खालमा बसेर
खै के को दाउ हानिरहेछ
हिब्रू साइँलाले खालिल आसमानको गाउँमा ?
माउण्ट जिओनका भित्ताहरूमा
फक्रिएका यी फूलहरू
साँच्चै,
राता पप्पी फूलहरू हुन् कि
स्कुले नानीहरूको रगत पोखिएको ?
थाहा पायौ त,
मेरी अमिना आराफत !
यिद्धीओनीहरू नाच्न थालेपछि
कसरी शून्यमा झर्दोरहेछ – जीवनको मूल्य ?
ठीक यही बेला
अनुमतिपत्र धारी हेगका जुवाडेहरू
आँखामा पट्टी बाँधेर
युद्धको बाक्लो तुवाँलोभित्र
यो इतिहासको अँध्यारो जोखिरहेछन् !
र यो सिकारी विज्ञान
गाँजापट्टीका मोहम्मदहरूलाई
आफै अवुअमिन र आफै घोउल हुँदै
बाँडिरहेछ – डाइनामाइडका ललीपपहरू !
माटोको आलो रगतलाई
रेफ्रिजेरेटरका चेम्बरहरूमा जमाएर
यो क्याकटसको ओछ्यानमाथि
किन निदाइरहेछौ
यति ढुक्कले जिनाव नसिर ?
हेर त,
ह्वाइटहाउसका रैथाने बाजहरू
धावा बोलिरहेछन्
तिम्रा स्वाभिमानका धवलगिरिहरूमा !
यो पर्खाल पारिबाट
डिसेम्बर इभसँगै आएको बतासले
किन पखाल्दैछ
आज जीवनको आदिबाशी रङ ?
र यो मनको आकाशमा
श्याम–श्वोत इन्द्रेणीमात्र उदाइरहेछ !
कमिजजस्तै हाट्टा लाएर
दन्तेकथाको बेनाम नायक
किन नआएको होला – यो बस्तीमा ?
धर्तीको यो अन्तिम किनारामा
मृतसागर डुबेपछि
टुट्दारहेछन् – डावके नृत्यका लयहरू !
ए महमौद डारविस !
थाहा छ तिमीलाई
यो जोर्डन नदीको पानीमा
यतिखेर आँसुको घनत्व कति छ ?
भन न,
ए तहरिर अलफारसी !
कहाँ हराउँछन्
नुन किन्न गएका आमाहरू ?
किन घर फर्किंदैनन्
टिफिन बोकेर स्कुल हिँडेका नानीहरू ?
कसरी गुमनाम भए
रिक्साले डोर्याइरहेका रिक्सावालहरू
र उभिरहेछ – रफाह सहर सुनसान सडकमाथि ?
ए फिरकात अल आसिक्वीन !
भन न,
कसले निभाइदियो – तिम्रो आगोको गीत ?
ए घामचरी !
भन न,
कसले सल्काइदियो – यो वनको मचानमा डढेलो ?
भन न,
ए जेइतुना सालम !
जतिसुकै यारघुल फुके पनि
किन बज्दैनन् – हाम्रा जीवनका धुनहरू ?
माफ गर्नुस् ! ओबामा महोदय !
यो धुवाँको रङ
र तिम्रो अनुहारको रङ
म किन ठ्याक्कै उस्तै देख्दैछु, आज !
म अब,
बन्टिङ चराझैँ गीत गाउँदै
तुमलेटमा पानी होइन
आलो रगत भरेर
यो बारुदको तिर्खा मेटाउन आउँदैछु !
सक्छौ भने,
आऊ र पड्काऊ !
मेरो छातीमा आणविक बम
मलाई जिन्दगीभन्दा यो भुइँ प्यारो छ !
******
(नोट :– यिद्धीओनी – बोक्सो वा शैतान, अवुअमिन – धामी, घोउल – बोक्सी, हाट्टा – राष्ट्रिय ड्रेस, डावके – राष्ट्रिय लोकनृत्य, यारघुल – बाँसुरीजस्तै बाजा, माउण्ट जिओन – राष्ट्रिय चिहानघारी)