
पोखराको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा मृत्यु भएकी महिलाको दाहसंस्कारपछि कोरोना पुष्टि भएको छ ।
उनको अन्त्येष्टिमा मलामी गएका झण्डै २०० व्यक्ति क्वारेन्टीनमा बस्नुपर्ने भएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घर भइ हाल पोखरा–५ निवासी ४५ वर्षीया ती महिलाको भदौ २६ गते राति १ः१५ बजे मृत्यु भएको थियो ।
रक्त क्यान्सरबाट पीडित ती महिलालाई ३ दिनदेखि अस्पतालको आईसीयूमा राखेर उपचार हुँदै आएकोमा शुक्रवार मृत्यु भएपछि अस्पतालले कोरोना रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाएको थियो ।
मृतकका आफन्तका अनुसार अस्पतालले कोरोना नभई अन्य कारणले ज्यान गएको भनी दाहसंस्कार गर्न सकिने भनेपछि शव बुझेर शुक्रवार नै पोखराको सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको थियो ।
अन्त्येष्टिमा सहभागी मलामीहरू आफन्तबाहेक पर्यटन व्यवसायी, गण्डकी प्रदेश सांसद, जनप्रतिनिधि, पत्रकार, शुभचिन्तक लगायत झण्डै २०० जनाको संख्यामा उपस्थित थिए ।
गत बिहीवार स्वाब संकलन गरी परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा शनिवार बिहान मात्र रिपोर्ट पोजेटिभ देखिएको हो । जसका कारण ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा मलामी गएका सबैलाई होम क्वारेन्टीन बस्न भनिएको पोखरा महानगर स्वास्थ्य महाशाखाले निर्देशन दिएको छ ।
मृतकका आफन्तले अस्पताल प्रशासनको लापरबाही भएको बताएका छन् । उनीहरूले रिपोर्ट नआउँदै कोरोनाको कारण नभई अन्य कारणले ज्यान गएको भनी आश्वस्त पारेपछि शव बुझेको र रिपोर्ट भने पोजेटिभ आएकाले यसको सम्पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने बताएका छन् ।
फिस्टेल अस्पतालका प्रवक्ता मधु ज्ञवालीले कोरोना पुष्टि भएको भन्ने जानकारी आफूलाई बल्ल भएको जिकिर गर्दै यसबारे छलफल गर्ने बताइन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा शनिवार बिहान स्याङ्जा पुतलीबजार–१ का ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । पछिल्ला २ केससहित कोरोना संक्रमणबाट गण्डकी प्रदेशका २४ जनाले ज्यान गुमाएका छन् ।
गत २४ घण्टामा प्रदेशमा थप ८३ जनामा कोराना संक्रमण देखापरेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत् पुष्टि गरेको छ । प्रदेशमा कूल संक्रमितको संख्या २ हजार ९०३ पुगेको छ ।