बाजुरा, ८ पुस-मिर्गाैला फेल भएकी मुगु, ह्याङ्लु गाविसस्थित रिगा गाउँकी २३ वर्षीया पार्वती उपाध्याय उपचार खर्च कतैबाट नजुटेपछि बाह्र ट्याब्लेट औषधि बोकेर माइती पुगेकी छिन् । ‘मर्नु अघि आमाको मुख हेरौं भनेर माइती आएँ’ उनले भनिन् । बाल्यकालदेखि अनेकौं हन्डर खेप्नुपरेको थियो । राजनीतिक कारणले १४ वर्षअघि कर्णाली नदीमा हामफालेर उनका बुबाले मृत्युवरण गरेका थिए, आजको राजधानी दैनिकमा खबर छ ।

बाबुको मृत्युपछि टुहरी बनेकी उनलाई आमाले गाह्रोसारो गरेर हुर्काइन् । कक्षा आठमा पढ्दै गर्दा पार्वतीको जीवनमा अर्को बज्रपात प-यो । इष्टकुटुम्बकै युवाले ललाइफकाइ विहे गरी भारत पु¥याएर अलपत्र पारे ।
पतिको खप्की सहन नसकेर घर फर्किएकी उनको जीवनमा अर्को विपत्ति आइलागेको छ । चिकित्सकले मिर्गौला ‘फेल’ भएको बताएर थप उपचार गर्न सुझाए पनि बेसहारा भएर उनी मृत्युको दिनगन्ती गर्न बाध्य भएकी हुन् । दुई महिनादेखि बृद्धा आमाको सहारामा दिन काट्दै आएकी पार्वती दर्जनौंपटक भक्कानिन्छन् । उपचार गराउन नसकेर थलिएकी, उनका खुट्टा सुन्निएका छन् । ‘मृत्यु पर्खिबस्नुबाहेक केही विकल्प छैन,’ उनले रुँदै आफ्नो वेदना पोखिन् ।