
पहिरोपीडितको पुनर्स्थापना र स्थानान्तरणको कार्ययोजना बनाउन समिति गठन गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेलको संयोजकत्वमा एक समिति गठन गरिएको हो।
समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्बन्धित सहसचिव, सिंचाइ विभागका उपमहानिर्देशक, वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक, जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सम्बन्धित सहसचिव, सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख, प्रदेश सरकारको सम्बन्धित मन्त्रालयका प्रतिनिधि एवं सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रहेका छन्।
समितिले १५ दिनभित्र जोखिम बस्तीको पहिचान गर्नेछ भने संरक्षण गर्न सकिने बस्तीका लागि संरक्षण सम्बन्धी कार्ययोजना बनाउनेछ । त्यसैगरी, बस्ती स्थानान्तरण गर्नुपर्ने भए सुरक्षित स्थानसहित त्यसको कार्यतालिका र कार्ययोजना पनि प्रस्ताव गर्नेछ । साथै, त्यसका लागि आवश्यक बजेट एवं त्यसको स्रोत, जनशक्ति, विद्यमान कानूनी व्यवस्था र एकीकृत प्राविधिक निर्देशिका पनि तयार गर्नेछ।
त्यस्तै, समितिले यसका लागि संविधानमा तोकिएको तहगत सरकारको जिम्मेवारीका आधारमा कार्य विभाजन गर्न पनि सिफारिस गर्नेछ । भदौ पहिलो साता मन्त्रीपरिषद्ले हालैका बाढी तथा पहरोबाट विस्थापित बस्तीको स्थानान्तरणको काम गृह मन्त्रालयको संयोजनमा शहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्ने निर्णय गरेकाले त्यसका लागि प्रष्ट कार्ययोजना सम्बन्धमा पनि सुझाव दिनेछ ।
समितिले तयार गरेको यस्तो एकीकृत कार्ययोजना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकमा प्रस्तुत हुनेछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राकृतिक प्रकोपसँग जोडिएका क्षेत्रमा काम गर्ने निकायबीच बृहत समन्वयको आवश्यकता देखिएकोले छलफल आयोजना गरिएको बताए।