०१ साउन २०८३, शुक्रबार

गाउँमा फैलियो रोग, स्वास्थ्य संस्थामा औषधि अभाव

भदौ ३१, २०७७
गाउँमा फैलियो रोग, स्वास्थ्य संस्थामा औषधि अभाव
प्रतिकात्मक तस्वीर

हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको संख्या बढ्दै गएको छ ।

विगत केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको संख्या बढ्दै गएको स्थानीय पुसे कार्कीले जानकारी दिए ।

गाउँमा हरेक दिन बिरामीको संख्या बढ्दै गएपछि अहिले १५ देखि २० जनामा त्यस्ता रोगाको लक्षणका बिरामी परेको छ । बिरामीको संख्या बढ्दै गएपछि उपचारका लागि स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा जाँदा औषधिको पनि अभाव भएपछि बिरामीलाई थप समस्या भएको कार्कीले गुनासो गरे ।

गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि नगएपछि बिरामीलाई थप समस्या भएको हो । थप उपचारका लागि १ बिरामीलाई गत हप्ता जिल्ला अस्पताल सिमकोट ल्याइएको भए पनि उनको ज्यान गएपछि त्रसित भएका स्थानीयले स्वास्थ्यकर्मीको टोली खटाइदिन आग्रह गरेका छन् । 

ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले समन्वय नगरेका कारण औषधि भए/नभएको थाहा नहुने स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए । उनापनीका बिरामी र स्वास्थ्य इकाइमा औषधिको अवस्था बुझेर जानकारी गराउने बताए ।

सर्केगाड गाउँपालिका स्वास्थ्य शाखामा औषधि अभाव भएका कारण स्वास्थ्य संस्थामा समेत अभाव देखिएको संयोजक सन्तोष धामीले बताए । केही दिनअघि गाउँपालिकामा पुगेको औषधि दाखिला गरिनसकेको उनले बताए । औषधिको मुचुल्का भएको र दाखिला गरी सबै वडाका स्वास्थ्य संस्थामा पठाउने तयारी भइरहेको धामीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्