
काठमाडौं २४ वैशाख– प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा बिचाराधीन महाअभियोग प्रस्तावबारे अन्यौलता कायम रहेको समयमा व्यबस्थापिका संसदको बैठक सूचना मार्फत स्थानीय तहको चुनावसम्मका लागि स्थगित गर्ने तयारी भएको छ । आइतवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना मार्फत स्थगन गर्ने तयारी भएको संसद सचिवालय स्रोतले बतायो ।
गत शुक्रवारको बैठकबाट महाअभियोग प्रस्ताव संसदको प्रक्रियामा छिरेको भएपनि सर्वोच्च अदालतको आदेशपछि सो प्रस्ताव के हुन्छ भन्ने अन्यौलता कायमै छ । सर्वोच्चको आदेशले संसदको विशेषाधिकार हनन गरेको भन्दै महाअभियोगका प्रस्तावक सत्तारुढ दल काग्रेस र माओवादी केन्द्र महाअभियोगकै पक्षमा देखिएका छन् ।
सर्वोच्चको आदेशपछि महाअभियोग प्रक्रिया अगाडि बढाउन नहुने प्रतिपक्षी दल नेकपा एमालेसहितको अडान छ । सभामुख ओनसरी घर्तीले संसदको बैठक ३१ गतेको चुनावसम्मका लागि स्थगित गर्ने सम्भावना रहेको संसद सचिवालय स्रोतले जनायो ।
यसअघि शुक्रवारको बैठकमा सभामुखले महाअभियोग प्रस्तावका प्रस्तावक काग्रेस सांसद मीनबहादुर विश्वकर्मालाई प्रस्ताव पेशगर्ने अनुमति दिएपनि विपक्षी दलको बिरोधका कारण सो प्रस्ताव पेश हुन सकेको थिएन् । सर्वोच्चको आदेशपछि शुक्रवार बसेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सर्वोच्चको पछिल्लो आदेशले संसदको् विशेषाधिकार हनन गरेको भन्दै महाअभियोग प्रक्रिया जारी राख्ने निर्णय गरेका थिए ।