१९ असार २०८३, शुक्रबार

मुख्य न्यायाधिवक्ता झाको सक्रियतामा बन्धनमुक्त भएर घर फर्किए शिवचन्द्र र मिलयादेवी

मुख्य न्यायाधिवक्ता झाको सक्रियतामा बन्धनमुक्त भएर घर फर्किए शिवचन्द्र र मिलयादेवी

उपचार खर्च नपाएर दुई महिनादेखि अस्पतालमा रोकिएका शिवचन्द्र सदा र मिलयादेवी बन्धन मुक्त भएका छन् । प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको पहलमा उनीहरू मंगलबार दिउँसो अस्पतालबाट घर फर्किएका हुन् ।

गाउँका तथाकथित ठूला जातिका मानिसबाट मरनासन्न हुनेगरी कुटाई खाएर घाइते उनीहरूले अस्पतालमा उपचार खर्च तिर्न सकेनन् । उपचार खर्च तिर्न नसकेर दुई महिनादेखि अस्पतालमा बन्धक रहेका थिए ।

उनीहरूलाई मुक्त गर्न मुख्यमन्त्री लालबाबु राउतले यसअघि नै अस्पतालको रकम तिर्ने निर्णय गरे पनि कर्मचारीहरूले फाइलमाथि फाइल खडा गर्दा रकम निकासामा ढिलासुस्ती गर्दै आएको पाइएको छ ।

महान्यायाधिवक्ता झाले अस्पतालमा उपचार खर्चको व्यवस्था गर्नुका साथै उनीहरूलाई घर पठाउन एम्बुलेन्सको व्यवस्थापन समेत गरिएको जानकारी दिए । सदा दम्पती घरतिर लागेको तस्वीर सार्वजनिक गर्दै महान्यायाधिवक्ता झाले उनीहरुको विषय उठान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

घटनाको बारेमा मंगलबार नयाँ पत्रिका दैनिकमा कभर स्टोरी छापिएको छ । उक्त समाचारलाई रिट्वीट गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लेखे, ‘यो राज्य कहिल्यै गरीबको थिएन । दलित/महादलितको त छँदै थिएन । हामीले जनयुद्ध हुँदै शान्ति प्रक्रियाकालको सरकारसम्म यसलाई बदल्न खोज्यौं, तर सकिएन; बरू उल्टै आफैं बदलिएछौं ।’

उनले अगाडि लेखेका छन्, ‘प्रधानमन्त्री छँदा कर्मचारीलाई सधैं प्रक्रिया हैन परिणाम हेर्नोस् भन्थेँ तर आजसम्म उस्तै छ । म लज्जित छु । अर्को क्रान्ति जरूरी छ ।’

भट्टराई लगायत सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उठाएको मुद्दालाई सम्बोधन गर्दै प्रदेश २ का महान्यायाधिवक्ता झाले लेखे, ‘प्रदेश २ को सरकारले एक लाख पचास हजार दिने निर्णय गत बिहीवार नै गरेको थियो, प्रक्रियामा ढिलाई भयो, यसकारण क्षमाप्रार्थी छु ।’

उनी सामाजिक सञ्जालमा लेखेर मात्रै बसेनन् । तत्कालै गोल्डेन हस्पतालका सञ्चालकमध्येका एक सनातन मण्डललाई फोन गरे र प्रदेश सरकार जवानी बसेकाले मुक्त गरिदिन आग्रह गरे ।

झाले प्रदेश प्रहरी प्रमुखलाई यस विषयमा तत्काल काम अगाडि बढाउन घच्घचाइरहे ।

प्रक्रियामा अल्झिने सरकारी कामबारे झा भन्छन्, ‘दुर्भाग्य नै मान्नुपर्दछ, प्रतिक्रियावादीलाई परास्त गर्‍यौं, प्रक्रियावादीहरू अझै जनताको सरोकारको विषय ढिलो गर्छन् ।’

दोहोरो-तेहेरो अन्यायमा परेका दलित दम्पती सप्तरीको महुलीका स्थानीय बासिन्दा हुन् ।

उनीहरूलाई कुट्ने तारेखमा छुटिसकेका छन् तर कुटाइ खानेहरू भने गरीबीका कारण दुई महिनादेखि विराटनगरको गोल्डेन हस्पिटलमा बन्धक बनाइएका हुन् ।

घाउचोटको उपचारको पैसा तिर्न नसकेपछि उनीहरू अस्पतालमै रोकिएका थिए ।

उनीहरूले बन्धक बनाइएको दुई महिनासम्म अन्य बिरामीका आफन्तले दिएको खाना खाएर अस्पतालमा दिन कटाउँदै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्