भारतका रक्षामन्त्री राजनाथ सिंहले द्विपक्षीय सम्झौता पालन नगरेको भन्दै चीनको आलोचना गरेका छन् । बेइजिङको भनाइ र गराइमा भिन्नता रहेको उनले बताए ।
बिहीवार राज्य सभामा बोल्दै सिंहले मे महिनामा सैन्य स्तरको वार्ता चलिरहँदा वास्तविक नियन्त्रण रेखा पार गर्ने कोशिश चिनियाँ सेनाले गरेको बताए ।
‘तर हाम्रा सुरक्षा फौजले चिनियाँ सेनालाई सफल हुन दिएनन्,’ उनले भने ।
‘चिनियाँ गतिविधिले द्विपक्षीय सहमतिहरूलाई असम्मान गरेको देखिन्छ । सीमामा ल्याएर फौज थुपार्नु भनेको सन् १९९३ र १९९६ मा गरिएका सम्झौताविपरीत हो । सीमाक्षेत्रमा वास्तविक नियन्त्रण रेखाको सम्मान गर्नु र त्यसलाई पालन गर्नु शान्ति र स्थिरताको आधार हो,’ उनले भने ।
भारतले सीमाविवादको शान्तिपूर्ण समाधान चाहेको र देशको सम्प्रभुतालाई रक्षा गर्नुपरेमा कुनै पनि किसिमको कारवाहीबाट पछि नहट्ने उनले बताए । भारतका सशस्त्र फौजले वास्तविक नियन्त्रण रेखालाई पालन गर्ने भए पनि चिनियाँ पक्षले त्यसो नगर्ने गरेको उनले बताए ।