०६ असार २०८३, शनिबार

होटलहरू सरकारले त खोल्यो तर व्यवसायीलाई कोरोनाको डर

असोज १, २०७७
होटलहरू सरकारले त खोल्यो तर व्यवसायीलाई कोरोनाको डर

लेकसाइडस्थित गौरीघाट क्षेत्र अझै सुनसान छ । अधिकांश होटलको मूलद्वारमै ताला पड्काइएको छ । ६ महिनादेखि यहाँ पाहुना आएका छैनन् ।

सरकारले असोज १ गतेदेखि होटल तथा रेस्टुरेन्ट खोलेर सेवा दिन सकिने जनाए पनि होटल व्यवसायी सञ्चालनको तयारीमा छैनन् ।

‘म त अहिले होटल खोल्दिनँ यस्तो कोरोना लागेको बेला । जहिलेसम्म नियन्त्रण हुँदैन, तबसम्म खोल्दिनँ । जति घाटा लागे लागोस्,’ गौरीघाटस्थित होटल पिस जोनकी सञ्चालिका उर्मिला थापाले भनिन्, ‘५–७ जना स्टाफ थिए, चैतदेखि नै घर गएका छन् । पाहुना आउने सम्भावना नभएपछि अहिले यस्तो बेलामा खोलेर के गर्नु ?’ 

विगत १० वर्षअघि खोलिएको होटल उर्मिलाले खरिद गरी चलाउन थालेको १ वर्ष पुगेको छ । यहीबीचमा कोरोना महामारीले होटल बन्द गर्नुपर्‍यो । कहिलेसम्म सहज अवस्था आउला भन्ने अनुमान नभएपछि उनले अझै घाटा खाने मनस्थितिमा रहेको बताइन् । 

बैदामस्थित होटल माउन्ट कैलाश भने पाहुना आए राख्ने तयारीमा छ । यसअघि साउनको १५ गतेदेखि केही हप्ताका लागि रेस्टुरेन्ट सेवा समेत दिएको माउन्ट कैलाशले सरकारले होटल पनि खोल्न सकिने भनेपछि आवश्यक तयारी थालेको जनाएको हो ।

होटल सञ्चालक नरेश भट्टराईले भने, ‘पहिलो दिन असोज १ गतेका लागि काठमाडौंका २ जना गेस्टबाट बुकिङ भइसकेको छ । अब थप पाहुना आए राख्दै जाने र सेवा दिने हो ।’ कोरोना महामारीको बीचमा पनि रेस्टुरेन्ट तथा होटल सेवा दिनका लागि भट्टराईले करीब २० प्रतिशत कर्मचारी बोलाइसकेको लोकान्तरलाई जानकारी दिए ।

यी २ होटल सञ्चालकको धारणा फरक–फरक पाइए पनि पोखरामा अधिकांश होटल तथा रेस्टुरेन्ट सञ्चालक अहिले नै सेवा दिने तयारीमा छैनन् । कोरोना भाइरस संक्रमण जोखिम कायमै रहेको, पाहुना पनि आउने सम्भावना कम रहेको र कर्मचारी पनि कतिपय घर गएकाले खोल्न हतारिएका छैनन् । 

होटल ल्याण्डमार्कका सञ्चालक राजु पाण्डेले गएको साउनमा झैं आंशिक रूपमा कर्मचारी राखेर होटल तथा रेस्टुरेन्ट सञ्चालनमा ल्याउने बताए । पूर्णरूपमा सेवा दिने अवस्था नरहेको उनको भनाइ छ । उनको हङ्ग्री आई रेस्टुरेन्टको लागि आवश्यक कूक, वेटरसहित होटलमा क्लीनर, हाउस किपिङ, सेक्युरिटी गरी मात्र २५ जना कर्मचारीलाई आमन्त्रण गरिएको छ । होटल तथा रेस्टुरेन्ट गरी विगतमा १०४ जना कर्मचारी कार्यरत थिए । अहिले पूर्ण रूपमा सेवा दिन कठिन रहेकाले आंशिक मात्र कर्मचारी बोलाइएको सञ्चालक पाण्डेले बताए ।

होटल सञ्चालकको संस्था पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले विगतमा आन्तरिक उडान तथा सार्वजनिक यातायात समेत सञ्चालन नहुँदै करीब २० प्रतिशत होटल खुलेकोमा पुनः महामारी बढेपछि बन्द भएको बताए । उनका अनुसार अहिले सार्वजनिक यातायात र आन्तरिक हवाइ खोल्ने सरकारको निर्णयसँगै कोरोना संक्रमण जोखिमको अवस्था, पाहुनाको आगमन दर, सेवा दिनसक्ने अवस्था हेरीकन मात्र होटल सञ्चालन हुन सक्ने छन् ।

‘अधिकांश होटल व्यवसायीहरू अहिले नै खोलेर सेवा दिने मनस्थितिमा हुनुहुन्न । यो वर्षको सिजन जारी रहे पनि कोरोना महामारीले यत्तिकै खेर जाने देखिन्छ,’ उनले भने ।  

हल्लनचोकस्थित फेयर माउन्टका सञ्चालक समेत रहेका संघ अध्यक्ष तुलाचन आफैं पनि असोज १ गतेदेखि नै होटल खोल्ने पक्षमा नरहेको बताउँछन् । कहिले खोल्ने, कहिले बन्द गर्ने सरकारको पटक–पटकको निर्देशनले आफूहरूलाई पनि अन्योल भएको उनले बताए । आवश्यक तयारीका लागि पनि कम्तीमा १ हप्ता लाग्ने उनले बताए । 

पश्चिमाञ्चल होटल संघमा हाल ४०० होटल दर्तामा छन् । दर्ता भएका होटलसहित साना–ठूला गरी पोखरामा करीब ७०० होटल छन् । रेस्टुरेन्ट एन्ड बारको संख्या करीब १०० छ ।

पर्यटन व्यवसायीका अनुसार पोखराको पर्यटन क्षेत्रमा हाल १ खर्ब २५ अर्ब रुपैयाँ लगानी छ । संवेदनशील क्षेत्र मानिने पर्यटन क्षेत्र कोरोना भाइरस महामारीका लागि ६ महिनादेखि नराम्ररी प्रभावित बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्