हिलोमा लडीबुडी गर्दै शंख बजाउने अनि यसो गर्दा कोरोनाभाइरस लाग्दैन भन्ने एक भारतीय राजनीतिकर्मी कोभिड पोजिटिभ देखिएका छन् ।
राजस्थानका विधायक सुखवीर सिंह जौनपुरिया तीन दिनअघि पोजिटिभ देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
रोग लाग्नुभन्दा एक महिनाअघि उनले त्यो उट्पट्याङ भिडियो फेसबूक पेजमा अप्लोड गरेका थिए । त्यसमा उनी हिलोमा बसेको अनि शंख बजाइरहेको देखिन्छ ।
‘बाहिर जानुस्, पानीमा भिज्नुस्, हिलोमा लडीबुडी गर्नुस्, खेतमा काम गर्नुस्, शंख बजाउनुस् र स्वदेशी खानेकुरा खानुस् । यसो गर्दा रोगप्रतिरोधक क्षमता बढ्छ,’ उनले भनेका थिए ।
भारतमा ५० लाखभन्दा बढी मानिसलाई कोरोना लागेको पुष्टि भइरहेको बेलामा जौनपुरियाको पनि खबर आएको हो ।