
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संविधान देशको मूल कानून मात्र नभएर देश हेर्ने आँखी झ्यालसमेत भएको बताएका छन् । संविधानका अक्षरहरु पुस्तकमा कैद भएर मात्र नबस्ने बरु देशको दैनिक जीवन व्यवहारमा सजीव भएर अभिव्यक्त हुने बताए।
“संविधान कागजी दस्तावेज मात्र होइन, राज्य प्रणाली, शासनको स्वरुप, अधिकार र कर्तव्यको बाँडफाँड, शक्ति पृथकीकरण र सन्तुलन, निर्वाचन प्रणाली, मौलिक हकको व्यवस्था लगायत विषयहरु सग्रहित यो राज्यको विधान हो जसले देश र जनताको जीवनमा महत्वपूर्ण र दुरगामी अर्थ राख्छ”, पौडेलले भने ।
उनले नेपाली जनताको संघर्ष, त्याग एवम् बलिदानीबाट प्राप्त संविधानसभामार्फत संविधान जारी भएको पाँचौं वर्ष पुरा भएकाले आजको दिन नेपाली जनताले आफ्ना लागि आँफैले बनाएको पहिलो संविधान जारी भएको ऐतिहासिक एवम् गौरवपूर्ण दिनका रुपमा स्मरण गरे ।
पौडेलले २०७२ असोज ३ गते जारी भएको संविधान कार्यान्वयनसँगै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको उल्लेख गरे ।