
ताइवानको रक्षा मन्त्रालयले चीनका १९ वटा विमान शनिवार ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोनमा प्रवेश गरेको बताएको छ । यी विमानहरू दक्षिणपूर्वी तटबाट ताइवानमा प्रवेश गरेको र केहीले ताइवान स्ट्रेट मिडलाइन पार गरेको पनि बताइएको छ ।
शुक्रवार पनि चीनका विमान आफ्नो क्षेत्रमा आएको ताइवानको गुनासो छ ।
विमान कहाँ पसे भन्ने विषयमा ताइवानको रक्षा मन्त्रालयले नक्सा जारी गरेको छ । कुनै पनि चिनियाँ विमान मेन ताइवान नजिक वा माथि नउडेको बताइएको छ ।
मन्त्रालयले ट्वीट गर्दै लेखेको छ, ‘चिनियाँ वायुसेनाले लडाकू विमान ल्यायो र ताइवानी गतिविधिमा नजर राख्नका लागि एयर डिफेन्स मिसाइल सिस्टम तैनाथ गर्यो ।’
ताइवानलाई चीनले आफ्नै अभिन्न अंग मान्ने गरेको छ । कुनै पनि देशले ताइवानसँग स्वतन्त्र द्विपक्षीय सम्बन्ध नराखोस् भन्ने चीनको चाहना छ ।
तर अमेरिकाले ताइवानसँग सम्बन्ध बढाइरहेको छ । हालै अमेरिकाका स्वास्थ्यमन्त्री एलेक्स अजारले ताइवान भ्रमण गर्दा चीन रिसाएको थियो ।
विगत चार दशकमा ताइवान भ्रमण गर्ने एलेक्स पहिलो उच्च अमेरिकी अधिकारी हुन् । अमेरिका र चीनबीच अहिले रहेको तनाव यसले थप चर्काएको छ । चीनले यसको परिणाम राम्रो नहुने चेतावनी दिएको छ ।
चीन सरकारले चलाउने पत्रिका ग्लोबल टाइम्सले शुक्रवारको अभ्यास ताइवान कब्जा गर्ने पूर्वाभ्यास भएको भनी शनिवार लेखेको छ ।
पत्रिकामा लेखिएअनुसार, ‘अमेरिका र ताइवानले स्थितिको गलत अनुमान लगाउनुहुँदैन र यो अभ्यासलाई गम्भीर रूपमा लिनुपर्छ । उनीहरूले भड्काइरहन खोजे भने अवश्य युद्ध हुन्छ ।’
तर ताइवानमा जनजीवन सामान्य छ । युद्धको आशंकामा मानिसहरूले कुनै पनि हलचल गरेका छैनन् । विज्ञहरूका अनुसार, ताइवानलाई चीनका धम्कीहरूको बानी परिसकेको छ ।