
राजधानीको गोंगबु चोकनजिकै मिल सञ्चालन गर्ने श्रेष्ठ राइस एण्ड चिउरा मिलमा भएको २०० बोरा चामल बिक्रीमा रोक लगाइएको छ ।
श्रेष्ठ राइस एण्ड चिउरा गोङ्गबु प्रिन्ट गरिएका ३० के. जी. तौलमा भरिएका चामलको उत्पादन मिति, उपभोग्य मिति, मिल, खुद्रा वा अधिकतम मूल्य नराखिएको, खरिद बिक्री बिल नभएको र मिलको परिचय पाटी नराखिएकोले बिक्रीमा रोक लगाइएको हो । काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले आजै दिउँसो १ मिल सञ्चालकलाई कागजातसहित कृषि विभागमा बोलाएको छ ।
यसैगरी बालाजु चोककै छेउमा रहेको ढकाल आलु तथा सब्जी भण्डारका सञ्चालक पण्डितप्रसाद ढकालले ११० रुपैयाँ प्रतिकेजी प्याज बेचिरहेका पाइएको छ ।
प्याज किन महङ्गो नि ? अनुगमन टोलीका प्रतिनिधिले प्रश्न गर्दा सञ्चालकले उत्तर दिए, ‘मैले नै १०० रुपैयाँ प्रतिकिलोमा किनेर ल्याएको हुँ । यति भन्दै उनले गोकर्णेश्वर नगरपालिका वडा ५ जोरपाटीमा रहेको नन्देश्वरी आलु प्याज तथा गल्ला भण्डारले दिएको २० बोरा प्याजको बिल देखाए ।
११ सय किलो प्याजको प्रतिकिलो १०० रुपैयाँका दरले १ लाख १० हजार रुपैयाँ बिलमा उल्लेख थियो । अनुगमन टोलीले नन्देश्वरी भण्डारका सञ्चालकलाई पनि विभागमा बोलाएको छ ।
आजको अनुगमनका क्रममा गोपीकृष्ण खाद्य उद्योगबाट बजार पठाउन तयार गरिएको ठूलो प्लाष्टिकको थैलीमा राखिएका करीब २५ प्याकेट पानीपुरी र हरिशरण ढकालले स्कुटरमा राखेर बेच्दै हिँडेका १५ प्याकेट खुला चाउमिन बरामद गरेर नष्ट गरिएको छ ।
यसैगरी सानो भर्याङ्मा सञ्चालित माँ भवानी ट्रेडर्सका सञ्चालक रञ्जन गुप्तालाई मूल्य सूची नराखेको, खरिद बिक्री बिल अद्यावधिक नगरेको, म्याद सकिएका सामान राख्ने ठाउँ नबनाएकाले आवश्यक कागजपत्रसहित कार्यालयमा उपस्थित हुन भनिएको छ ।