काठमाडौँ उपत्यकामा अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास थालिएको छ । सरकारले जारी गरेको निर्देशिकाले स्थानीय तहलाई दिएको जिम्मेवारीअनुसार उपत्यका नगरपालिका फोरमले शुःल्कको एकरुपता बनाउन छलफल थालेको हो ।
फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिक्षा शुःल्कको विषयमा विभिन्न नगर र महानगरपालिकाका प्रमुख एवं उपप्रमुखसँग छलफल शुरु गरेको जानकारी दिए ।
केही दिन अनलाइनमाध्याम वा भौतिक दूरी कायम गरेर प्रत्यक्ष भेटघाट गरी छलफल शुरु गरिएको र सबैको रायका आधारमा फोरमले शुःल्क निर्धारणका लागि आवश्यक निर्णय गरेर सरकारलाई सिफारिस गर्ने उनले जानकारी दिए । दिनदिनै बढ्दो क्रममा रहेको कोभिड–१९ ले उपत्यकालाई नराम्ररी प्रभावित बनाइरहेको सन्दर्भमा त्यसको नियन्त्रणका उपायबारे समेत छलफल जारी रहेको फोरमले जनाएको छ ।
सार्वजनिक सवारी साधानलाई तत्कालै सञ्चालन गर्न नहुने पक्षमा फोरम रहेको थियो । उपत्यकाका नगरपालिकाले तत्काल खुलाउन नहुने भन्दै सरकारलाई सुझाव समेत दिएको तर सरकारले असोज १ गतेबाटै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएपछि उपत्यकामा थप जोखिम बढेको फोरमले जनाएको छ ।
पछिल्लो समयमा मुलुकभर देखिएको सङ्क्रमितमध्ये आधा उपत्यकाका छन् ।