०१ असार २०८३, सोमबार

कास्कीमा सक्रिय संक्रमित प्रदेशकै उच्च, ४८३ मध्ये १७७ घरमै

असोज ५, २०७७
कास्कीमा सक्रिय संक्रमित प्रदेशकै उच्च, ४८३ मध्ये १७७ घरमै

कास्कीमा सक्रिय संक्रमितको संख्या झण्डै ५ सय पुग्न लागेको छ । सोमबार बिहानसम्म जिल्लामा ४ सय ८३ जना सक्रिय संक्रमित रहेका छन् । 

गण्डकी प्रदेशका ११ जिल्लामध्ये कोरोनाबाट कुल संक्रमित, सक्रिय संक्रमित र मृत्युको ग्राफमा सबैभन्दा उच्च हुन पुगेको छ । कुल संक्रमित संख्या ८ सय १६ पुग्दा सक्रिय संक्रमितको संख्या ४ सय ८३ पुगेको हो । ३ सय २२ जना निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ । 

विगतमा अन्य जिल्लाको तुलनामा कमैमात्र संक्रमित रहेको कास्कीमा पछिल्ला केही महिना सो संख्या ह्वात्तै बढेको हो । घनावस्ती रहेको प्रदेशको एकमात्र महानगर पोखरा कास्कीको सदरमुकाम हो ।

कास्कीमा हालसम्म संक्रमितमध्ये पुरुष ५ सय ४७ र महिला २ सय ६९ जना छन् । यस्तै, सक्रिय संक्रमितमा ३ सय ८ पुरुष र १ सय ७५ जना महिला आइसोलेसनमा छन् । तीमध्ये अस्पतालमा आइसोलेसन अभावमा होम आइसोलेसनमै १ सय ७७ जना बस्न बाध्य छन् । ४१ जना क्वारेन्टाइनमा बसेका छन् । गण्डकीमा कुल १ हजार ३ सय ५३ आइसोलेसनमध्ये कास्कीमा मात्र ९५ वटा बेड क्षमता छ । 

प्रदेशको मुस्ताङ र म्याग्दीमा सक्रिय संक्रमित हाल शून्य छ ।  कास्कीपछि कम सक्रिय संक्रमित रहेका जिल्लामा क्रमशः नवलपरासी (बर्दघात सुस्ता पूर्व) ३ सय २६, लमजुङ १ सय ६४, तनहँु १ सय ३४, गोरखा ७१, स्याङजा ६७, बागलुङ ३८, पर्वत ८ र मनाङ ३ जना छन् । 

गण्डकीमा संक्रमितमध्ये हालसम्म ३२ को ज्यान गएको छ । सबैभन्दा बढी कास्कीका ११ जना छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्