
संसारभरि कोरोनाभाइरस महामारी फैलिरहेको बेलामा चीनको लान्चो शहरमा ब्रुसेलोसिस नामक रोग फैलिएको छ ।
यसबाट तीन हजारभन्दा बढी मानिस संक्रमित भएको तर कसैको पनि मृत्यु नभएको बताइएको छ ।
ब्रुसेलोसिस ब्याक्टेरियाबाट हुने रोग हो जसले गाईवस्तु, सुँगुर, बाख्रा, भेडा र कुकुरलाई संक्रमित गर्छ । संक्रमित पशुको प्रत्यक्ष सम्पर्कमा आएका वा संक्रमित पशु उत्पादन खाएका पिएका मानिसलाई संक्रमण हुन सक्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, संक्रमित बाख्री वा भेडीको निर्मलीकरण नगरिएको दूध वा चीज पिउँदा अधिकांश केसहरू देखिएका हुन् ।
ज्वरो, चिटचिट पसिना, जिउ भारी हुने, भोक नलाग्ने, टाउको दुख्ने तथा मांसपेशीमा पीडा हुने यस रोगका लक्षण हुन् । केही लक्षणहरू लामो समयसम्म रहन्छन् भने अन्य लक्षण चाहिँ कहिल्यै हराउँदैनन् । नहराउने लक्षणमा बारम्बार ज्वरो आउने, गठिया हुने, अण्डकोष सुन्निने, मुटु फुल्ने, निरन्तर थकाइ लाग्ने, डिप्रेसन हुने अनि कलेजो सुन्निने पर्छन् ।
मानवबाट मानवमा भाइरस संक्रमण दुर्लभ छ ।
लान्चो शहरको स्वास्थ्य आयोगको वेबसाइटमा पोहोर साल नोभेम्बर २८ मा ब्रुसेल्स एन्टीबडी पोजिटिभ घटना भएको उल्लेख छ । लान्चो पशु अनुसन्धान संस्थामा उक्त घटना भएको हो । यस रोगको खोप बनाउने क्रममा कारखानाले मिति गुज्रिसकेको निःसंक्रमण पदार्थ उपयोग गरेको जसले गर्दा फोहरबाट उत्पन्न हुने ग्यासको निर्मलीकरण अधूरो रहेको पाइयो । यसै ग्यासमा रोग उत्पन्न गर्ने भाइरस विद्यमान रहेको र त्यो नै एरोसोल बनेर मानिसहरूमा गएको भनी लेखिएको छ ।