
नाइँ नभन्नु ल ४, छक्का पञ्जा र जात्रा गरी जम्मा तीन चलचित्रमा अभिनय गरेकी अभिनेत्री वर्षा राउत आफूले अभिनय गरेका तीनै चलचित्र हिट भएपछि यतिबेला चर्चामा छिन् ।
पछिल्लो समय सयदिनको रेकर्ड बनाएकोे चलचित्र छक्का पञ्जा र जात्राले व्यावसायिक रूपमा राम्रो व्यापार गरेपछि नेपाली सिनेप्रेमी दर्शकले वर्षालाई चिन्न थाले । चल्तीकी नायिका राउतसँग लोकान्तरका अर्घेलो थापाले कुराकानी गरेका थिए :
भर्खर तीनवटा मात्र चलचित्रमा अभिनय गरेको मान्छे, कसरी यति चर्चित बन्नुभयो ? मैले आफ्नो तर्फबाट तीनओटै फिल्ममा राम्रो गरेकी थिएँ । नाइँ नभन्नु ल, छक्का पञ्जा, जात्राबाट मलाई दर्शकले चिन्नुभयो । हिट हुनलाई दर्शकहरूले चिनेर मात्र होइन कि, आफूले काम गरेको आफैंलाई चित्त बुझ्यो भने आफू चर्चित भइन्छ भन्ने लाग्छ ।
अहिले कुनै चलचित्रमा काम गरिरहनुभएको छ ?
तत्कालका लागि कुनै चलचित्रमा काम गरेकी छैन । कुरा त भइरहेको छ । तर चलचित्र निर्माणको घोषणा नभएसम्म बताउन नमिल्ला ।
नेपाली सिनेमामा आफूलाई चिनाउनका लागि नयाँ कलाकारले संघर्ष गर्नुपरेको बताउँछन्, तपाईंले कत्तिको संघर्ष गर्नुप–यो ?
मलाई थिएटर आर्टिस्टलाई जस्तो वर्षौं संघर्ष गरेर त आउनुपरेन । शायद वातावरण नै त्यस्तै बन्यो । मैले आफ्नो कामलाई सहजताका साथ गर्न खोज्नुले पनि त्यो सफलता मिलेको हुनसक्छ । मैले आफ्नो भूमिकालाई राम्रो बनाउन त संघर्ष गर्नुपरेको थियो ।
केही समयअघि मात्र जन्मदिन मनाउनुभयो । आफ्नो ब्वाइफ्रेन्डलाई केक पनि खुवाउनुभयो, कस्तो साथ पाइरहनुभएको छ उहाँबाट ?
राम्रो साथ छ । उहाँले मलाई हरेक तरिकाले सहयोग गरिरहनुभएको छ । काममा सघाउनुहुन्छ ।
बिहे कैले गर्ने त ? बिहेबारे मैले सोचेकी नै छैन ।
सेलिब्रिटीको त धेरै ब्रेकअप भइरहन्छ नि, हैन ? भोलि म मर्छु भनेर बाँच्दै नबाँच्ने कुरा त भएन नि ! अहिले जे छ, राम्रो छ । हेरौं, भोलि के हुन्छ ? यसको मतलब म ब्वाइफ्रेन्डसँग ब्रेकअप गरेर टाढिन खोजेको छु भन्ने होइन ।
छोटो समयमा धेरै फ्यानहरू कमाउनुभएको छ । पर्दामा देखेका दर्शकले वास्तविक जीवनमा भेट्दा कस्तो प्रतिक्रिया दिन्छन् ?
भेट्ने दर्शक तथा साथीहरूले मलाई पर्दामा देखेजस्ती मोटी हुनुहुन्न रैछ भन्छन् । म त्यति धेरै मोटी त छैन तर स्क्रीनमा मोटी देखिन्छु भन्ने प्रतिक्रिया आउँछ । पहिलेको तुलनामा मलाई आजभोलि धेरैले चिन्नुहुन्छ ।
सेलिब्रिटी भइसकेको जिन्दगी कस्तो हुने रैछ ? केही फरक पर्ने रैछ र ?
सेलिब्रिटीका लागि समय व्यवस्थापन गर्न एकदमै गाह्रो हुने रैछ । पहिले मसँग घरमा बिताउनका लागि समय हुन्थ्यो । परिवारका लागि समय मिलाउन नै सकिन्न । यसै पनि समय व्यवस्थापनको मामिलामा म कमजोर थिएँ, झन् अहिले त मलाई समय मिलाउन गाह्रो छ ।
चलचित्रमा कुनै त्यस्तो आदर्श भूमिका खोज्नुभएको छ तपाईंले ? कुन पात्रको भूमिकामा तपाईं अभिनय गर्न चाहनुहुन्छ ?
ठ्याक्कै यस्तो खालको भन्दा पनि एक्सन फिल्ममा अभिनय गर्न पाए हुन्थ्यो भन्ने लागेको छ । अरू नायिकाले एक्सन चलचित्रमा त्यति काम नगरेको भएर पनि आफूलाई त्यस्तो लागेको होला ।
सुपरपावरमा आधारित एक्सन चलचित्र बन्यो भने त्यस्तो चलचित्रमा अभिनय गर्न सक्छु भन्ने लाग्छ?
त्यस्तो त योजना छैन । नेपालमा त्यस्ता स्क्रिप्ट पनि बनेका छैनन् । अहिले म सामान्य युवतीको अभिनय गर्न चाहन्छु । शायद सुपरपावरवाला फिल्ममा पनि अभिनय गर्न सकिएला नि ।
अभिनयका हिसाबले आफूलाई कत्तिको सफल छु भन्ने लाग्छ ?
समय त लाग्ला नै । अझै पनि प्रयास गर्ने सिलसिलामै छु । सिकिरहेकी छु ।
छक्का पञ्जाको एउटा दृश्यमा तपाईंले बोल्ड सिन दिनुभएको छ नि । दर्शकबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
त्यो दृश्यमा अभिनय गर्दा मलाई पनि अलिकति अप्ठेरो लागेको थियो, तर दर्शकले त्यो दृश्यलाई सामान्य लिनुभएको रहेछ ।
ग्ल्यामरलाई कुन रूपमा हेर्नुहुन्छ ?
यो विषयमा म अनभिज्ञ छु । म आफू ग्लायमरस छु भन्ने पनि लाग्दैन ।
दर्शकको कुनै कुराले तपाईंको मन दुखेको छ कि ?
दर्शकले मोटी भन्दा हल्का दुःख लाग्छ, त्यही हो ।
अब कस्तो फिल्ममा अभिनय गर्न पाए हुन्थ्यो भन्ने छ ?
ठ्याक्कै त्यस्तो भन्ने त छैन तर राम्रो स्क्रिप्ट पाए हुन्थ्यो भन्ने लागिरहन्छ ।