२३ जेठ २०८३, शनिबार

जब बालकलाई भालुले पछ्याइरह्यो

असोज ८, २०७७
जब बालकलाई भालुले पछ्याइरह्यो

जंगलमा भालुसँग जम्काभेट भएमा के गर्नुपर्छ भनी अध्ययन गरिरहेका एक बालकले इटलीको पहाडमा साँँच्चै भालुको सामना गरेका छन् । 

१२ वर्षीय पशुप्रेमी अलेस्सान्द्रो पहाडमा हिँड्दै गर्दा विशाल भालुले पछ्याएपछि शान्त रहँदै बिस्तारै गए । 

उनले यो नाटकीय क्षणको भिडियो पनि खिचेका छन् । 

उत्तरपूर्वी इटलीको सुडटिरोलमा परिवारसँग वनभोज खान उनी गएका थिए । 

भिडियोमा बालक पहाडमुनि बिस्तारै झर्दा उनीपछाडि झाडीबाट एउटा भालुको टाउको देखिन्छ । 

अलेस्सान्द्रो पछाडि फर्केर हेर्छन् अनि भालुले उनलाई पछ्याउन थाल्छ । तर उनी आत्तिदैनन् र सिकेको कुरा व्यवहारमा उतार्छन् । 

उनी जाँदै गर्दा भालु पछिल्ला खुट्टाहरूमा उभिन्छ । 

ती बालकले लकडाउनमा घरैमा बस्दा जंगलमा भालु भेटियो भने के गर्नुपर्छ भनी पढेका थिए । उनका काकाले उनी पशु तथा जंगल एकदमै मन पराउने बताए । 

स्पोरमिनोर नामक गाउँमा पढ्ने ती बालकले भने, ‘भालुलाई खतरामा परेको भान नदिइकन त्यहाँबाट हिँड्नुपर्ने थियो । मैले भालुको आँखामा हेरिनँ र भालुले म उसको शत्रु हैन भनी बुझ्यो । अहिले म संसारको सबभन्दा खुशी बालक हुँ ।’

घटनापछि भालु त्यस ठाउँबाट गएको र कसैलाई पनि चोटपटक नलागेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार, उक्त क्षेत्रमा ८० देखि ९० जंगली भालु बस्छन् ।

salt training

कमेन्ट गर्नुहोस्