
जुम्लामा ९ दिनअघि अनशन शुरू गरेका वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ ।
जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएका केसीलाई ट्रमा सेन्टरमा राखिएको छ । उनले शिक्षण अस्पतालमा बस्न चाहेका थिए ।
“डा.केसी आफैँ काठमाडौं जान मञ्जुर भएपछि हामीले पठाएका हौं”, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल जुम्लाका निर्देशक डा. मंगल रावलले भने , “उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रतिष्ठानका डा प्रविणलाई साथमा पठाएका हौं ।”
पन्ध्रौ सत्याग्रह जुम्लामा बसेका डा. केसी उन्नाइसौं सत्याग्रहका लागि पुन: जुम्ला नै पुगेका थिए ।
डा.केसीले भने दुई वर्षअघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौं आउने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
काठमाडौं आइपुगेपछि पनि सत्याग्रह जारी राख्ने उनले उल्लेख गरेका छन् ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारसहित विभिन्न समसामयिक माग राखेर अनशन बस्दै आएका डा. केसीको यो उन्नाइसौं अनशन हो ।