०४ साउन २०८३, सोमबार

भीरमह बेचेर गाउँमा भित्रियो ४० लाख

असोज ६, २०७७
भीरमह बेचेर गाउँमा भित्रियो ४० लाख
प्रतिकात्मक तस्वीर

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा भीरमौरीको मह बिक्रीबाट ४० लाख रुपैयाँ भित्र्याएका छन् ।

कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा १०० घार, रुम भन्ने ठाउँमा ६०, जिर्जा भीरमा ५०, पन्थेडम्बार भीरमा ४० घार काटेर मह निकालेको मह ब्यापारी समेत रहेका स्थानीय चित्र छन्त्यालले बताए ।

ठूलो भीरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भीरमा दिनभरि खर्चिनुपर्ने उनले बताए । झण्डै १५ सयदेखि २५ सय मिटरको उचाइका पहाडमा यो वर्ष करीब २ हजार लिटर मह निकालिएको उनको भनाइ छ । बजारमा भीरमह प्रतिलिटर २ हजार रुपैयाँमा बिक्री भइरहेको उनले बताए ।
    
मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा २ समूहमा शिकारी बाँडिएका हुन्छन् । १ समूहले भीरको माथीबाट तल भूइँसम्म डोरी झुन्डाउँछन् भने भीरको तलपट्टि रहेका अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन् । मह निकाल्ने स्थानीय भाषामा भिरौटेलाई व्यापारीले दैनिक ३ हजार, मह तान्ने टाउकेलाई १ हजार ८०० र मह छान्ने सिपालुलाई १ हजार ५०० सम्म ज्याला दिनुपर्ने छन्त्यालको भनाइ छ ।

अन्तर्राष्ट्रियस्तरमा भीरमहको माग उच्च छ । एक सिजनमा ज्याला, राजस्व र अन्य व्यवस्थापन गरी करीब २५ लाखभन्दा बढी खर्च हुन्छ भने मह बिक्री गरेर ४० लाख रुपैयाँको हाराहारीमा आम्दानी भएको मह व्यापारीको भनाइ छ । ठूलो भीरमा १० र सानोमा ६ जनाको जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनीहरूले बताएका छन् । बस्तीबाट धेरै टाढा विश्वकै सातौं अग्लो धौलागिरी हिमालको फेद आसपासका क्षेत्रमा पछिल्लो समय भीरमौरीको बथान बढ्दै गएकाले उत्पादनमा वृद्धि भएको बताइएको छ । 

भरीमौरीको संरक्षणमा समेत विशेष ध्यान दिने गरेको पुराना भीरमह शिकारी रिबहादुर विकले बताए । वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा वेशी र शरदमा लेकमा पुगेर भीरमह निकाल्ने गरिन्छ । भीर मह काढ्दा परङमार्फत गएका शिकारीले गोलामा धुवाँ झोस्ने भएकाले थोरै गल्ती भएमा ज्यान पनि जान सक्ने हुन्छ । अनुमति लिएर भीर मह निकाल्नेहरुबाट वडा कार्यालयले राजस्व संकलन गरी गाउँपालिकामा पठाउने गरेको वडाध्यक्ष गमन छन्त्यालले बताए ।

आकाशमा उड्ने चरो समेत बस्न नसक्ने ठाउँमा युवाहरू डोरीको सहायताले पुग्ने गरेको दृश्यले विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्