
रसुवा जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमित शून्य भएका छन् ।
पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मंगलवारदेखि आइसोलेसन शय्या खाली भएका छन् ।
हालसम्म पीसीआर विधिबाट ८५७ जनाको स्वाब परीक्षण गरिएकामा २० संक्रमित भेटिएपछि धुञ्चे तथा जिबजिबेमा स्थापित आइसोलेसन कक्षमा राखी उपचार गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताए । क्वारेन्टीनमा भने पटक–पटक गरी ४७३ जना राखिएको थियो । अहिले ती सबै आ–आफ्ना घर गइसकेको जनाइएको छ ।
अबका दिनमा कोरोनाका आशंकितलाई मात्र पीसीआर परीक्षण गराइने स्वास्थ्य कार्यालयले स्पष्ट पारेको छ । जिल्लामा हाल कोभिड–१९ संक्रमित शून्य भएकाले यसलाई स्थिर राख्न स्थानीयले स्वास्थ्यका मापदण्ड निरन्तर रूपमा पालना गर्नेमा आशावादी भएको प्रमुख श्रेष्ठले बताए ।
जिल्लामा ४४ हजार जनसंख्याका लागि २ अस्पताल, २ आइसोलेसन र १८ स्वास्थ्य केन्द्र छन् । केन्द्र तथा प्रदेश सरकारले बेलाबेलामा आवश्यक औषधिसमेत उपलब्ध गराइरहेका कारण उपचारमा सहज भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मास्क लगाउने, भीडभाडमा नजाने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने, जथाभाबी नथुक्ने, सामाजिक दूरीको पालना गर्ने जस्ता कार्यमा स्थानीय थप सजग हुने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले विश्वास व्यक्त गरे ।