१० साउन २०८३, आइतबार

अमेरिकाविरुद्ध चीनको प्रोपागान्डा भिडियो

भदौ १६, २०७७
अमेरिकाविरुद्ध चीनको प्रोपागान्डा भिडियो

चिनियाँ सेनाले बनाएको प्रोपागान्डा भिडियोमा हलिउडको ब्लकबस्टर फिल्मको भिडियो क्लिप उपयोग गरिएको पाइएको छ । 

भिडियोमा ट्रान्सफर्मर्स र द रक फिल्मको क्लिप प्रयोग गरिएको पाइएको हो । 

भिडियोमा आणविक हतियार जडान गरिएका एच–६ बम्बर विमानहरूले गुआमस्थित अमेरिकी सैन्य अड्डामा नक्कली हमला गरेको देखाइएको छ । 

चीनको सामाजिक सञ्जाल वीबोमा यसले ५० लाखभन्दा बढी भ्युज पाइसकेको छ । 

तर हलिउड फिल्मका क्लिप चोरेको पत्ता लगाएपछि केही प्रयोगकर्ताहरूले यस भिडियोको मजाक उडाएका छन् ।

दुई मिनेटको भिडियोको शीर्षक गड अफ वार – अट्याक छ । चिनियाँ वायुुसेनाले यसलाई शनिवार जारी गरेको हो । भिडियोमा नाटकीय किसिमको संगीत उपयोग गरिएको छ । 

अमेरिकाको एन्डरसन एयरफोर्स बेसमा आक्रमण गरिएको यसमा देखाइएको छ । भिडियोमा लेखिएको छ– ‘हवाई सुरक्षामार्फत मातृभूमिको रक्षा गरिँदैछ । पूर्ण आत्मविश्वास र क्षमताका साथ हामी मातृभूमिको सुरक्षा आकाशमा रहेर गर्दैछौं ।’

चिनियाँ सेनासँग निकट रहेका एक सूत्रले साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै सेनाले प्रचारका लागि हलिउड फिल्मका क्लिपहरू प्रायः उपयोग गर्ने गरेको बतायो । 

स्रोतले भन्यो, ‘सेनाको प्रचार विभागका लगभग सबै अधिकारी हलिउड फिल्म हेर्छन् । उनीहरूको दिमागमा अमेरिकी युद्ध फिल्मका क्लिप बसिरहेका हुन्छन् ।’

यो भिडियो बनाएर अमेरिकालाई चीनले तनाव बढेमा गुआमस्थित तिम्रो सैन्य अड्डा जोखिममा पर्छ भनी चेतावनी दिन खोजेको सिंगापुर इन्स्टिच्युट अफ डिफेन्स यान्ड स्ट्राटेजीका कोलिन कोहले बताए । 

salt training

कमेन्ट गर्नुहोस्