
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ सय ७२ मा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।
बुधवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९ हजार ४५९ को नमूना पीसीआर परीक्षण गरिएको र तीमध्ये ११ सय ७२ मा संक्रमण देखिएको बताएका हुन् ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ ।
उनले गत २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १८ सय ९३ रहेको जानकारी दिए ।
हालसम्म नेपालमा ४९ हजार ९ सय ५४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।
अहिले यतिबेला नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ ।
डा. गौतमका अनुसार देशभर भेन्टिलेटरमा रहेका संक्रमितको संख्या ४३ रहेको छ ।