इलाका प्रहरी कार्यालय खुर्कोटकी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) शान्ता वाइबा सिन्धुली जिल्लाकै सर्वोत्कृष्ट प्रहरी कर्मचारी घोषित भएकी छन् ।
वाइबाको कमाण्डमा खटिएको प्रहरी टोलीले विप्लवका कार्यकर्ताहरूलाई सफलतापूर्वक नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले वाइबालाई भदौ जिल्लाको सर्वोत्कृष्ट प्रहरी कर्मचारीका रूपमा छनोट गरेको हो ।
वाइबाको कमाण्डमा खटिएको प्रहरी टोलीले गत भदौ १४ गते सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १३ ओडारेबाट विप्लवका ७ जना नेता/कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।
उनीहरूको साथबाट ४ थान सुतली बम र ८ वटा जीआई पाइप समेत बरामद भएको थियो ।
अझै महत्त्वपूर्ण त उनले चैत ११ बाट साउन ७ सम्म झण्डै ४ महिना चलेको लकडाउनका क्रममा निकै उदाहरणीय भूमिका खेलेकी थिइन् ।
लामो लकडाउनका कारण राजधानीमा हातमुख जोर्न धौ-धौ परेपछि घर फर्किने क्रममा बाटोमा अलपत्र परेकाहरूलाई वाइबाले उद्धार गरी गन्तव्यतर्फ पठाएकी थिइन् ।
इन्स्पेक्टर वाइबाले लकडाउनका समयमा गरेको उदाहरणीय कामबारे लोकान्तरले विशेष खोज रिपोर्ट प्रकाशित गरेको थियो ।
हेर्नुहोस्, लोकान्तरमा प्रकाशित सामग्री :
इन्सपेक्टर वाइबाको लोभलाग्दो सक्रियता– यसरी भयो ७ हजार मजदुरको उद्धार !
इन्स्पेक्टर वाइबालाई विशेष कार्यक्रमका बीच सम्मान गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।