२३ असार २०८३, मंगलबार

नारायणी नदीले खतराको संकेत पार गर्‍यो, सतर्क रहन अपिल

नारायणी नदीले खतराको संकेत पार गर्‍यो, सतर्क रहन अपिल
फाइल फोटो

विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ । 

देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई. रामविकेश रायका अनुसार आज बिहान १० बजेर ३० मिनेट जाँदा नारायणीको सतह ८ दशमलव ०८ मिटर पुगेको थियो ।

आठ मिटरभन्दा माथिलाई खतरा मानिन्छ । यो घनमिटरमा १० हजार २२१ प्रतिसेकेण्ड रहेको थियो ।

यसअघि साउन ६ गते गत ४४ वर्ष यताकै सबैभन्दा बढी बहाव मापन भएको थियो । त्यस दिन बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । 

त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७७९ घनमिटर प्रतिसेकेण्ड रहेको थियो ।

यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको रायले जानकारी दिए ।

बीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह ९ दशमलव ६ मिटर रहेको उनले बताए । त्यतिबेला पानीको बहाव २७ वर्षयताको सबैभन्दा बढी थियो ।

रायका अनुसार नारायणी नदीको शिरतर्फ पर्ने कास्की, म्याग्दीलगायतका क्षेत्रमा आउँदो १२ घण्टा निरन्तर वर्षा हुने भएकाले नदीको बहाव अरू बढ्न सक्नेछ । 

नारायणी नदी बढेसँगै यसको प्रभाव भरतपुर महानगर र नवलपुर क्षेत्रमा पर्दछ ।

महानगर प्रमुख रेनु दाहालले नदी तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको जानकारी दिइन् ।

नदीको बहाव बढ्न सक्ने भएकाले सबैलाई सतर्क रहन उनको अनुरोध छ । रासस

salt training

कमेन्ट गर्नुहोस्