०४ असार २०८३, बिहीबार

नारायणीले बगायो चितवनको केटो

असोज ९, २०७७
नारायणीले बगायो चितवनको केटो
प्रतिकात्मक तस्वीर

नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैंडाको बच्चा (केटो) बगाएको छ ।

निकुञ्जको दूर्गम क्षेत्र मानिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट नदीले केटोलाई बगाएको हो । 

निकुञ्जका सहायक सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार शुक्रवार बिहान करीब ३ वर्षको केटोलाई नदीले बगाएको हो ।

‘निकुञ्जको दूर्गम क्षेत्रबाट (कोर एरिया) शनिवार  बिहान गैंडाको बच्चालाई बगाएको छ,’ उनले भने, ‘केटोलाई बगाएपछि हामीले उद्धार गर्न अथक प्रयास गर्‍यौं तर सफलता मिलेन, सकेनौं ।’

नदीको बाढीले केटोलाई बगाएर भारत पुर्‍याएको उनले जानकारी दिए ।

केटोलाई भारत पुर्‍याएपछि वाल्मीकि टाइगर रिजर्वका पदाधिकारीसँग समन्वय गरेर केटोको खोजी कार्य जारी राखिएको उनको भनाइ छ । ‘अहिलेसम्म केटोको अवस्था जानकारी पाउन सकिएको छैन,’ उनले भने, ‘केटो भेटिएपछि खबर गर्न भनेका छौं ।’ यस आर्थिक वर्षमा यस अघि आएको बाढीले बगाउँदा एउटा गैंडाको बच्चा मृतावस्थामा फेला परेको थियो । 

विक्रम संवत् २०७४ सालको साउनमा आएको बाढीमा बगेर निकुञ्जका गैंडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए । निकुञ्जले यसरी बगेका र ज्यूँदै रहेका १३ वटा गैंडा उद्धार गरेर चितवन नै ल्याएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्