
काठमाडौं । व्यक्ति हत्या र लुटपाटमा संलग्न रहेको अभियोगमा तनहुँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं १ का ४६ वर्षीय शिव गौतम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
शुक्रबार बिहान शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ स्थित कुम्ले खोलाका ६० वर्षीय तेज कुमारी ढकालको हत्या गरी उनी फरार भएका थिए । ढकालको आफ्नै घरभित्र भुईँमा दुबै हात,खुट्टा र घाँटीमा कपडा (सल) ले बाँधिएको अवस्थामा शव फेला परेको थियो ।
घटनाको जानकारीपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी उपरीक्षक अरुण पौडेल समेतको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गर्दा शरीरको बिभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या भएको खुलेको सूचना अधिकारी युवराज तिमल्सिनाले जानकारी दिए ।
हत्यापछि लुटपाट समेत गरी फरार गौतमलाई शुक्रबार दिउँसो व्यास नगरपालिका २ स्थित सहिद गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।