
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाको औपचारिक भ्रमणका क्रममा सुटकेसभरि मैला लुगा बोकेर जाने गरेकाले अमेरिकी अधिकारीहरू आश्चर्यचकित भएका छन् ।
द वाशिङटन पोस्टमा अघिल्लो बुधवार प्रकाशित खबरअनुसार, नेतान्याहुले अमेरिकाका सरकारी कामदारहरूलाई आफ्नो मैलो लुगा धुलाउने गरेका छन् ।
इजरायलका पत्रकारहरूले यसै विषयमा वर्षौंदेखि समाचार लेखिरहेको भए पनि पहिलोपटक अमेरिकी अधिकारीहरूले यस विषयमा मूलधारको सञ्चारमाध्यमलाई बताएका हुन् ।
पोस्टको समाचारअनुसार, नेतान्याहु वाशिङटनमा औपचारिक भ्रमणमा आउँदा ब्लेयर हाउसमा बस्छन् र इजरायलबाट मैलो कपडाको झोला र सुटकेस लिएर आउँछन् । त्यसपछि अमेरिकाका सरकारी कामदारहरूले
नेतान्याहुका कपडा सित्तैमा धोइदिन्छन् । यसले अमेरिकी करदाताको पैसा बेफ्वाँकमा खर्च भइरहेको द वाशिङटन पोस्टको समाचारमा उल्लेख गरिएको छ ।
त्यसो त ब्लेयर हाउसले आफ्ना सबै अतिथिको मैलो लुगा सित्तैमा धोइदिन्छ तर अधिकांश विदेशी अतिथिहरूले जायज तरिकाले त्यसको उपयोग गरिरहेका हुन्छन् । उनीहरू भ्रमणका क्रममा मैलो भएको लुगा मात्र धुन दिन्छन् ।
‘नेतान्याहु परिवारले मात्र सुटकेसका सुटकेस लुगा हामीलाई धुलाउनका लागि ल्याउने गरेका छन्,’ एक अमेरिकी अधिकारीले बताए । ‘उनले अमेरिका आउँदा धेरैपटक यसो गरेपछि यो जानाजान गरिएको स्पष्ट भयो ।’
नेतान्याहुले यस्तो व्यवहार देखाएकोमा इजरायलमा वर्षौंदेखि आलोचना हुँदै आएको छ । सन् २०११ मा खोज पत्रकार रवीव ड्रकरले नेतान्याहु परिवारको लुगा धुलाउने बानीका विषयमा लेखेका थिए । अनि नेतान्याहुका पुराना सहयोगी तर अहिले उनीविरुद्ध बयान दिएका निर हेफेत्जले नेतान्याहु सुटकेसभरि मैलो कपडा लिएर अमेरिका जाने गरेको तर त्यो धोएको बिल चाहिँ गायब हुने गरेको बताए ।
इजरायलको प्रधानमन्त्री कार्यालयले द वाशिङटन पोस्टको समाचारको खण्डन गर्दै जम्मा दुईवटा शर्ट धुन दिएको अनि प्रधानमन्त्री तथा उनकी पत्नीको कपडामा आइरन लगाएको जानकारी दियो । प्रधानमन्त्रीले इजरायलबाट वाशिङटनसम्मको १२ घन्टाको उडानका क्रममा लगाएको पाइन्ट पनि धोएको उक्त कार्यालयले जानकारी दियो ।