०१ असार २०८३, सोमबार

क्वारेन्टीन व्यवस्थित गर्दै स्थानीय सरकार

असोज १३, २०७७
क्वारेन्टीन व्यवस्थित गर्दै स्थानीय सरकार
प्रतिकात्मक तस्वीर

धादिङमा कोभिड–१९ को जोखिम बढ्दै गएकाले स्थानीय सरकारले क्वारेन्टीनलाई थप व्यवस्थित गर्न थालेका छन् । 

कोरोना भाइरसको बढ्दो संक्रमण र नजिकिँदो चाडपर्वको कारण स्थानीय सरकारले क्वारेन्टीनको बसाइ आचारसंहिता निर्माणदेखि यसको व्यवस्थापनमा जुटेका हुन् ।

शुरूमा विद्यालय र सरकारी भवनमा क्वारेन्टीन सञ्चालन गरिएको थियो । कक्षा सञ्चालनको तयारीका लागि क्वारेन्टीन र आइसोलेसनका लागि प्रयोग गरिएको विद्यालयको भवन खाली गरिएको छ । स्थानीय सरकार नयाँ ठाउँमा बनाइएका क्वारेन्टीन र आइसोलेसनको राम्रो व्यवस्थापनमा जुटेका छन् । नयाँ ठाउँमा बन्दै गरेको क्वारेन्टीनमा धादिङका ७ वटा स्थानीय सरकारले क्वारेन्टीनमा बस्दा अपनाउनुपर्ने विभिन्न ९ बुँदे आचारसंहिता समेत जारी गरेका छन् । 

अब क्वारेन्टीन र आइसोलेसनमा बस्नेले आचारसंहिता पालना गर्नुपर्ने र यसले अवश्य संक्रमणको जोखिम कम हुने खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए । उनले क्वारेन्टीन र आइसोलेसनको व्यवस्थापन सरकारले तोकेको मापदण्डलाई पछ्याउँदै आफ्नो भूगोल र समुदायलाई हेरेर गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय, स्वास्थ्य संयोजक र एक्सन नेपालको टीम मिलेर व्यवस्थापन र बसाइ आचारसंहिताको निर्माण गरिएको छ । यसरी निर्माण भएको आचारसंहितालाई सातवटा पालिकाले अनुशरण गर्न थालेका छन् । 

क्वारेन्टीन र आइसोलेसनको राम्रो व्यवस्थापन गर्न सकिएन भने संक्रमणको उच्च जोखिम हुने देखिन्छ । स्थानीय सरकार नै बसाइ आचारसंहिता निर्माणदेखि क्वारेन्टीनको व्यवस्थापनमा जुट्दा क्वारेन्टीन र आइसोलेसनमा बस्नुपर्दा पनि संक्रमित र जोखिममा रहेका व्यक्तिहरू थप जोखिममा रहेको महसूस गर्न नपाउने गङ्गाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए । यसरी स्थानीय सरकारले क्वारेन्टीन निर्माण गरेको क्षेत्रमा स्वास्थ्य र सरसफाइका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डीसीएले सहयोग पुर्‍याएको छ । 

क्वारेन्टीनमा रहने प्रत्येक व्यक्तिलाई आवश्यक पर्ने व्यक्तिगत सरसफाइ सामग्रीदेखि क्वारेन्टीनमा इन्टरनेट, टेलिभिजन, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय र स्नानघर समेत डीसीएले निर्माण गरिदिएको छ ।

यसरी व्यवस्थित भएको क्वारेन्टीनमा २ हप्ता बसेकी धादिङ ज्वालामुखीकी गोमा श्रेष्ठ आफू क्वारेन्टीनमा बसेको समय निकै सुरक्षित र व्यवस्थितसँग बिताउन पाउँदा निकै खुशी देखिन्छिन् । उनलाई पर्याप्त स्वास्थ्य सामग्री र छुट्टै बसाइ, छुट्टै शौचालय र स्नानघरको व्यवस्था भएको देख्दा निकै दंग देखिन्छिन् । उनी छिमेकी मुलुक भारतबाट फर्किएर क्वारेन्टीनमा बस्न आएकी थिइन् । पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी घर जाने तरखर गर्दै गर्दा आफ्नै गाउँमा आइपुगेर व्यवस्थितसँग क्वारेन्टीनमा बस्न पाउँदा र कोरोना परीक्षणपश्चात् मात्र घर फर्किन पाउँदा निकै खुशी व्यक्त गरिन् । उनले क्वारेन्टीनको व्यवस्थापनको निकै बेर प्रशंसा गरेर गइन् । 

salt training

कमेन्ट गर्नुहोस्