
प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्यांकर चालकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौं आएको ना४ख ३०८५ नम्बरको ट्यांकरमा तारपिन तेल मिसाउने चालक सचिन सुवेदीलाई मंगलवार साँझ आयल निगमको थानकोट डिपोबाट पक्राउ गरेको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले नक्कली ट्यांकीको चाबी प्रयोग गरी चेम्बरको लक खोलेर तारपिन तेल मिसाएको सूचनाका आधारमा सुवेदीलाई पक्राउ गरिएको जानकारी दिए । नेपाल आयल निगम थानकोट शाखाका प्रमुख प्रदीप यादवले पेट्रोलमा ६०० लिटरभन्दा बढी तारपिन तेल मिसाएर ल्याएकाले कारवाही गरिएको बताए । २ हप्ताको अवधिमा आयल निगमले पेट्रोल तथा डिजेलमा मिसावट गर्ने तथा चोरी गर्ने ६ चालकलाई पक्राउ गरी कारवाही गरिसकेको छ ।