०७ असार २०८३, आइतबार

देवी दुर्गाको स्वरूपमा तस्वीर खिचाएकोमा भारतीय सांसद नुसरत जहाँलाई ज्यान मार्ने धम्की, मागिन् प्रहरी सुरक्षा

असोज १४, २०७७
देवी दुर्गाको स्वरूपमा तस्वीर खिचाएकोमा भारतीय सांसद नुसरत जहाँलाई ज्यान मार्ने धम्की, मागिन् प्रहरी सुरक्षा

भारतमा अभिनेत्रीबाट सांसद बनेकी नुसरत जहाँले इन्स्टाग्राममा देवी दुर्गाको स्वरूप धारण गरेपछि ज्यान मार्ने धम्की आएको भन्दै बेलायतमा रहेका भारतीय उच्चायुक्तसँग सुरक्षा मागेकी छन् । 

उनले भारतको विदेश मन्त्रालय र पश्चिम बंगाल सरकारलाई पनि यस विषयमा सतर्क गराएकी छन् । 
 

बसिरहातबाट तृणमूल कांग्रेसको टिकटबाट सांसद बनेकी नुसरत देवी बनेपछि मुसलमान कट्टरपन्थीहरू रिसाएका छन् । उत्तर प्रदेशमा रहेको देवबन्द शहरमा देशकै सबभन्दा ठूलो मदरसा छ र त्यहाँका धर्मगुरुहरूले उनलाई पश्चात्ताप गर्न भनेका छन् । 
 

नुसरत एक बंगाली फिल्मको शूटिङका लागि आइतवार लन्डन पुगेकी छन् । उनी अक्टोबर १६ सम्म त्यहाँ हुनेछिन् । 

उनको टीमका एक सदस्यले यस्ता किसिमका धम्कीहरू आइरहने गरेको र बेवास्ता गर्ने गरेको बताए । तर अहिले नुसरत देशबाहिर रहेकाले लन्डनस्थित भारतीय उच्चायोगसँग सुरक्षा मागेको ती व्यक्तिले बताए । 
 

देवबन्दमा मौलाना इशक गोराले भने, ‘नुसरत जहाँ यस्तै हर्कत गर्न मन पराउँछिन् । यी कुराहरू इस्लाममा प्रतिबन्धित छन् । उनको कामबाट मानिसहरूलाई चोट लागेको छ । उनले पश्चात्ताप गर्नुपर्छ ।’
 

नुसरत अहिले स्वस्तिक संकेत नामक फिल्मको प्रिप्रोडक्सनमा छिन् । 

उनले पोहोर साल पनि सिन्दूर लगाएर दुर्गा पूजामा भाग लिएकोमा मुस्लिम कट्टरपन्थीहरूले आलोचना गरेका थिए । 

कमेन्ट गर्नुहोस्