काठमाडौं, २६ बैशाख– कानुन दिवसको अवसरमा प्रधानन्यायाधीश सुशीला कार्कीले एक शुभकामना सन्देश दिएकी छन् ।
कानूनको शासन तथा स्वतन्त्र न्यायापालिका स्थापनाका लागि प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको सम्झनामा हरेक वर्ष बैशाख २६ अर्थात् आजको दिनलाई कानुन दिवसको रुपमा मनाइँदै आएको छ ।

दिवसमा अवसरमा प्रधानन्यायाधीशले दिएको शुभकामना सन्देशमा कानूनप्रतिको निष्ठा, संविधानप्रतिको बफादारिता एवम् राष्ट्र सेवामा जुट्ने प्रेरणा दिवसले दिएको उल्लेख गरिएको छ ।
यस्तै उनले संवैधानिक सर्वोच्चता, कानूनको शासन, स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता जर्गेना गर्ने दिशामा सम्बन्धित सबैको यथोचित प्रयास हुनेमा समेत आफूले विश्वास लिएको बताएकी छन् ।
यस्तै उनले नागरिकका संवैधानिक तथा कानूनी हक अधिकारको सच्चा पहरेदारको रुपमा रहेको स्वतन्त्र न्यायपालिकाको स्थापनाको आधारस्तम्भ खडा गर्ने दिनको रुपमा पनि दिवसलाई लिइएको सन्देशमा उल्लेख गरेकी छन् ।
दिवसको अवसरमा न्यायिक क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरिने तय भएको छ ।
यसैबीच सर्वोच्च अदालतले कानून दिवसका अवसरमा मंगलवार आयोजना गर्ने चियापान कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, कानूनमन्त्री अजयशंकर नायक र महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ लगायतले बहिष्कार गर्ने भएका छन् ।
सर्वोच्च अदालतका रजिस्ट्रार नृपध्वज निरौलाले कार्यक्रममा सहभागी हुन भन्दै उनीहरूलाई निमन्त्रण लेखिसकेका छन् । सर्वोच्चको चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि अनुपस्थित हुने भएका छन् ।
त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रका मन्त्री, सभासद् लगायत केही उच्चपदस्थ अधिकारी पनि सर्वोच्चको चियापानमा नजाने भएका छन् ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव विचाराधीन अवस्थामा रहेको भन्दै प्रधानमन्त्री, सभामुख र कानूनमन्त्री लगायतले सर्वोच्चको चियापान बहिष्कार गर्ने भएका हुन् ।
महाअभियोग प्रस्ताव विचाराधीन रहेकै अवस्थामा सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानन्यायाधीश कार्कीलाई काममा फर्कन गएको शुक्रवार आदेश दिएका थिए ।
उक्त आदेशसँगै प्रधानन्यायाधीश काममा फर्केकी हुन् । उनले आफूले मुद्दा नहेरे पनि मुद्दाको पेशी तोक्ने र प्रशासनिक काम गर्ने गरेकी छन् । सभामुख ओनसरी घर्तिले महाअभियोग संसद्को विशेषाधिकार भएको बताइसकेकी छन् ।
कार्कीको शुभकामना सन्देश
