
काठमाडौं महानगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या करीब १० हजार पुगेको छ ।
कामपामा हालसम्म ९ हजार ८२५ जना कोरोना भाइरसबाट संक्रमण भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नम्बर वडाका छन्, जहाँ ८७१ संक्रमित भएका छन् ।
वडा नम्बर ३, ११, १३, १६ मा पनि ५०० बढी संक्रमित रहेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए । होम आइसोलेसनमा बस्नेको संख्या २ हजार ९९० रहेको छ ।
अस्पतालमा उपचार गराइरहेका ५७२, संस्थागत आइसोलेसनमा ५८३ रहेका छन् । ५ हजार ५०९ जना निको भएर घर फर्किसकेको कामपाको भनाइ छ । प्रमुख कुँवरका अनुसार संक्रमणको कारण ८० जनाको मृत्यु भएको छ ।
सरकारले भने अनुरुप पछिल्लो समय भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचक्र्याइँ बढेपछि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । उपत्यकासहित देशभर व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ ।
सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिकजसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुन थालेको प्रमुख कुँवरको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनचर्या सञ्चालन गर्नका लागि बजार खुला गरे पनि नागरिकहरू स्वयं सतर्क रहन आवश्यक रहेको बताउँदै आएको छ । अहिले देशभरिको कूल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरूमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ११ हजार ७६० होम आइसोलेसनमा छन् । ९ हजार ४७४ संस्थागत आइसोलेसनमा छन् । यसमध्ये २१० आईसीयू र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।