०७ असार २०८३, आइतबार

चाडपर्वसँगै अब गाउँघरमा कोरोना संक्रमणको जोखिम

असोज १७, २०७७
चाडपर्वसँगै अब गाउँघरमा कोरोना संक्रमणको जोखिम

चाडपर्व नजिकिएसँगै कोरोना भाइरस संक्रमणको जोखिम गाउँघरमा हुने भएको छ ।

काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा संक्रमणको जोखिम बढ्ने भएको हो ।

अहिले धेरै संक्रमित बजार क्षेत्रका मानिसमा हुने गरेको र ती मानिस दशैं, तिहार, छठलगायत चाडपर्वमा घर जाने भएकाले गाउँघरतिर संक्रमण फैलिने खतरा रहेको छ । बन्दाबन्दी खुलेसँगै अहिले बजारमा मानिसको चहलपहल बढेपछि संक्रमित संख्या पनि ह्वात्तै बढेको छ ।

अब तीनै मानिस गाउँघरमा जाँदा संक्रमण फैलिने डर रहेको छ । चाडपर्व नजिकिँदै गर्दा मानिस अब गाउँघरतिर जान थालेका छन् । विद्यालय, कलेज बन्द भएका बेला कतिपय विद्यार्थी घर गइसकेका छन् भने अब केही जाने तयारीमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ मानिसको नजिकको सम्पर्कबाट सर्ने हुँदा भीडभाड नगरी चाडपर्व मनाउन आग्रह गरेको छ । मन्त्रालयले सकभर दशैंमा घर नजान, जानै परे घर गइसकेपछि कम्तीमा १४ दिन होम क्वारेन्टीनमा बस्नसमेत अनुरोध गरेको छ । बस वा हवाईजहाजमा घर जाँदा मास्कको प्रयोग गर्ने, अर्को मानिससँग कुरा गर्दा कम्तीमा २ मिटर दूरी टाढा राख्ने, बेलाबेलामा साबुनपानी र स्यानिटाइजरको प्रयोग गर्नसमेत आग्रह गरिएको छ ।

कोभिड–१९ का फोकल पर्सन महेन्द्र श्रेष्ठले चाडपर्वसँगै जोखिम गाउँतिर बढ्ने बताउँछन् । उनले उपत्यकालगायत ठाउँबाट मानिस चाडपर्व मनाउन गाउँघरतिर गए त्यहाँ रहेका वृद्धावृद्धा, साना बालबालिका, दीर्घरोगी, सुत्केरीलगायतमा जोखिम बढ्ने बताउँछन् । यही कात्तिक १ गतेदेखि नेपालीको महान् चाड दशैं शुरू हँुदैछ । त्यसलगत्तै तिहार र छठपर्व शुरू हुँदैछ ।
 
नेपालमा अहिले संक्रमण एक व्यक्तिबाट अर्को स्थानीय व्यक्तिमा सरेपछि संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । तैपनि अहिले केही जिल्लामा वर्ग विशेष (क्लस्टर) मा संक्रमण फैलिसकेको मन्त्रालयले जनाएको छ । ‘यसपटक चाडपर्व हामी जहाँ छौं, त्यही बसेर मनाए हुन्छ । हामी चाडपर्वमा घर गयौं भने घरमा रहेका बुढा आमाबुबा, साना बालबालिका र दीर्घरोगीलाई संक्रमणको जोखिम हुन्छ,’ श्रेष्ठले भने, ‘बरु यसपटक टीका नलगाए केही हँुदैन, खोप आएपछि अर्को वर्ष टीका लगाउँदा हुन्छ ।’

शुक्रवार एकैपटक २ हजार ७२२ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये आधाभन्दा धेरै १ हजार ६३८ काठमाडौं उपत्यकाका संक्रमित रहेका छन् । शुक्रवारको तथ्यांके पनि अहिले सबैभन्दा बढी संक्रमित शहरी क्षेत्रमा रहेको देखाएको छ । अहिलेसम्म काठमाडौं उपत्यकामा मात्रै २६ हजार ७४१ जना संक्रमित भइसकेका छन् ।
 
नेपालमा अहिले ८२ हजार ४५० संक्रमितमध्ये २१ हजार २३४ सक्रिय संक्रमित छन् । ६० हजार ६९६ जना निको र ५२० जनाको संक्रमणको कारणले निधन भएका छन् । नेपालमा निको हुने दर ७३.६ प्रतिशत रहेको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैं अर्को वर्ष पनि आउने भएकाले भीडभाड नगरी मनाउन अनुरोध गरे । उनले दशैंका बेला उच्च संक्रमण भएको जोखिम ठाउँबाट गाउँ जाने भएकाले गाउँतिर संक्रमण सर्ने बताए । ‘दशैंको बेला कोभिड–१९ को उच्च संक्रमणको ठाउँबाट टीका थाप्न गाउँगाउँ जाँदैछौं । एकपटक सोचौं कतै हामीले कोरोना त बोकेर गएका छैनौं,’ उनले भने, ‘ज्येष्ठ नागरिकसँग रोगसँग लड्ने क्षमता कम हुन्छ । उनीहरूलाई संक्रमण भएको बेला अस्पतालमा राखेर विशेष उपचार गर्नुपर्ने हुन्छ । त्यसैले चाडपर्वको बेला घर जाँदा विशेष ख्याल गर्नुपर्दछ ।’

मन्त्रालयका प्रवक्ता डा. गौतमले दशैंमा घर गइसकेपछि बूढाबूढीसँग कम्तीमा २ मिटर टाढा बस्नुपर्ने, अँगालो हाल्ने, हात समाउने काम नगर्न र उनीहरूको नजिक जाँदा जहिले पनि मास्कको प्रयोग गर्न अनुरोध गरेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले दशैंमा घर जाँदा शहर बजारबाट संक्रमण लिएर जाने भएकाले गाउँ जोखिम हुने बताए । उनले दशैंमा आफूभन्दा मान्यजनसँग टीका थप्दा टाढैबाटै बसेर थाप्नसमेत अनुरोध गरे । उनले बसमा घर जाँदा स्वास्थ्यका न्यूनतम मापदण्डसमेत अपनाउनुपर्ने बताए ।

महागरीय ट्राफिक महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले धेरै मानिस पहिल्यै गइसकेकाले यसपटक कम मानिस चाडपर्वमा जाने बताउँछन् । उनले अहिले दैनिक २१ हजार मानिस घर गइरहेको जानकारी दिए । उनले चाडपर्व नजिकिएसँगै घर जाने मानिसको पनि भीड लाग्न थालेको बताए ।

उनका अनुसार असोज १ गतेदेखि अहिलेसम्म ३ लाख १५ हजार मानिस घर गइसकेका छन् । – शरद शर्मा/रासस 

कमेन्ट गर्नुहोस्