
वडासचिव नहुँदा बैतडीका वडा कार्यालयको कामकाजमा समस्या आउने गरेको छ ।
जिल्लाका ८४ मध्ये ३० वडामा सचिव अभाव रहेको छ ।
वडामा दरबन्दीअनुसारका सचिव नहुँदा कामकाज प्रभावित हुनुका साथै सेवा प्रवाहमा समस्या भएको स्थानीय तहहरुले जनाएका छन् । सचिव नभएका वडामा प्राविधिक सहायक खटाएर सचिवको काम भइरहेको सुर्नया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले बताए ।
पाटन नगरपालिकाका १० वटै वडामा दरबन्दी अनुसारका सचिव नभएका कारण प्राविधिक सहायकले नै सचिवको काम गरिरहेका छन् ।
पुर्चौंडी नगरपालिकाका १० मध्ये नौ वडामा सचिव छैनन् । ती वडामा प्राविधिक सहायकले नै सचिवको काम गरिरहेको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले जानकारी दिए । उनले भने, ‘वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।’
डिलाशैनी गाउँपालिकामा ७ नम्बर वडामा मात्रै सचिव नभएका र अरु वडामा सचिवको दरबन्दी पदपूर्ति भएको गाउँपालिकाले जनाएको छ । दोगडाकेदार गाउँपालिकाको पनि ७ नम्बरमा मात्रै सचिव छैनन् भने अरु सबै वडामा सचिव रहेका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए । सिगास गाउँपालिकाको वडा नम्बर ४, ७ र ९ गरी ३ वडामा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् ।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको ७ नम्बर वडामा पनि सचिव नरहेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए । पञ्चेश्वर गाउँपालिकाका ६ मध्ये वडा नम्बर २, ४ र ५ मा सचिव नरहेका गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिइन् ।
शिवनाथ गाउँपालिकाको वडा नम्बर ४ बाहेक सबैमा सचिव रहेका गाउँपालिकाले जनाएको छ । मेलौली नगरपालिकाका ९ मध्ये ३ वडामा सचिव छैनन् । वडा नम्बर १, ५ र ९ मा प्राविधिक सहायकले काम गरिरहेका नगरपालिकाले जनाएको छ ।
वडामा सचिव नहुँदा दैनिक कामकाज निकै प्रभावित भइरहेको जनाएको छ । स्थानीय वासिन्दाले समयमै सेवा नपाएको समेत गुुनासो गर्ने गरेका छन् । बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिका गरी ८४ वडा छन् ।