
कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
कोभिड–१९ को अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ पुरुष र २ महिला गरी थप ८ जनाको मृत्यु भएको जानकारी दिएको छ ।
मृत्यु हुनेमा सुनसरीका १ जना, ललितपुरका १ जना, काठमाडौंका २ जना, सिन्धुपाल्चोकका १ जना, दोलखाका १ जना, चितवनका १ जना र कैलालीका १ जना रहेका छन् । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ५२८ पुगेको मन्त्रालयले जनाएको छ ।
राजधानी काठमाडौं उपत्यकामा १ हजार १७७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले संक्रमितको संख्या २ हजार १२० थपिएको जानकारी दिए ।
पछिल्लोपटक १२ हजार ९७८ जनाको आरटी–पीसीआर परीक्षण गरिएको थियो । उनका अनुसार देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ७७३ जना र होम आइसोलेसनमा ११ हजार ५२९ जना छन् ।
पछिल्लो २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए ।