३२ असार २०८३, बिहीबार

अमेरिकालाई चिनियाँ जनरलको चेतावनी : कोरियाली युद्धमा हराएका थियौं, विचार गर

असोज १८, २०७७
अमेरिकालाई चिनियाँ जनरलको चेतावनी : कोरियाली युद्धमा हराएका थियौं, विचार गर

वाशिङटन र बेइजिङबीच तनावको स्थिति रहेकोमा चिनियाँ जनरल ह लेइले सन् १९५० मा अमेरिकी सैनिकहरूलाई चिनियाँ जनमुक्ति सेनाले सफलतापूर्वक पछि हटाएको इतिहास सम्झेका छन् । 

सन् १९५० को अक्टोबर महिनामा चिनियाँ सैनिकहरू यालु नदी पार गरेर उत्तर कोरिया पुगेका थिए । जनस्वयंसेवी नाम दिइएका उनीहरू चिनियाँ भूमिमा आइपरेको खतरालाई टार्नका लागि तयार पारिएका थिए । 

प्योङयाङविरुद्ध अमेरिकी गठबन्धन सेनाका कमान्डर जनरल डग्लस म्याकआर्थरले दक्षिण कोरिया हात पार्ने किम इल सुङको प्रयासलाई विफल बनाएका थिए अनि ३८औं प्यारालल पार गरेर उत्तर कोरियालाई नै सिध्याउन खोजेका थिए । 

म्याकआर्थरले त्यसपछिको योजना पनि गोप्य राखेनन् । उनले कोरियाली युद्ध चीनसम्म पनि लग्ने र सीमापारि आणविक बम प्रहार गरेर कोरियाली प्रायद्वीपमा बेइजिङको रणनीतिक प्रभाव बन्न नदिने भनी बोलेका थिए । 

वाशिङटनले रणनीतिक घेराबन्दी गरेर अप्ठ्यारोमा पार्छ कि भन्ने डरका कारण माओत्से तुङले युद्धमा हस्तक्षेप गर्ने निर्णय लिए अनि कोरियामा लाखौं सैनिक पठाए । त्यतिखेर चीन कमजोर मुलुक थियो र उसको सेना पनि किसानहरूको झुण्ड मात्र थियो तैपनि चिनियाँ फौजले संयुक्त राष्ट्रसंघको गठबन्धन सेनालाई जितेर दक्षिणतर्फै जान बाध्य बनाएको थियो । 

बेइजिङले यसलाई अमेरिकी आक्रामकताको प्रतिकार गर्ने युद्ध भन्ने गरेको छ र यसको स्मृति अझै पनि उसका लागि ताजा छ । कोरियाली युद्धमा सफल हस्तक्षेप तथा निकै शक्तिशाली शत्रुबाट उत्तर कोरियालाई उद्धार गर्ने कामलाई पश्चिमी शक्तिहरूबाट बेइज्जतीको चिनियाँ शताब्दीको प्रतीकात्मक अन्त्यका रूपमा लिइन्छ र आत्मविश्वास बढेको भनी हेरिन्छ । 

यो युद्ध अन्त्य भएको निकै समय बितिसकेको भए पनि यसको सान्दर्भिकता हराएको छैन । विश्वव्यापी मञ्चमा अमेरिकाले बढी नै शत्रुतापूर्ण देखाइरहेको भन्दै चिनियाँ जनमुक्ति सेनाका जनरल ह लेइले सन् १९५० को विजय स्मरण गरेका छन् र वाशिङटनलाई व्यंग्य गर्दै भनेका छन्, ‘चीनसँग लड्ने इच्छा र जित्ने आत्मविश्वास दुवै छ । हामीहरू युद्धको इच्छा जगाउन, हाम्रो मिसनको समझ बलियो बनाउन तथा युद्धका लागि तयार रहने जिम्मेवारी कायम गर्न कठोर मेहनत गरिरहेका छौं ।’

चीन र अमेरिकाबीच सैन्य भिडन्त हुन सक्ने भनी मानिसहरूले डर मानिरहेको अवस्थालाई हको यो टिप्पणीले प्रतिबिम्बित गरेको छ । 

जनरल हका टिप्पणीहरू त्यत्तिकै आएका हैनन् तर चिनियाँ नेताहरू अमेरिकासँग भौतिक द्वन्द्व चाहिरहेका छैनन् । अमेरिकी नेताहरूले बेइजिङलाई जोखिमका रूपमा चित्रित गरिरहने भए पनि यो पुरानो शीतयुद्धकालीन मान्यता भएको र अमेरिकी परराष्ट्रनीतिका पक्षमा सम्मति तयार पार्नका लागि डरको माहौल बनाउनलाई गरिएको हो । 
 

वाशिङटनले हिन्द प्रशान्त रणनीतिअन्तर्गत ताइवानलाई सहयोग गरेर अनि दक्षिण चीन सागरमा तनाव चर्काएर चीन वरिपरिको क्षेत्रलाई रणनीतिक रूपमा घेर्न खोजेको छ । यस्ता प्रयासलाई निस्तेज पार्नका लागि जवाफ फर्काउनुको विकल्प सी चिनफिङसँग छैन । उनी निष्क्रिय बसे भने रणनीतिक रूपमा पछि पर्नेछन् । अमेरिकाका सामु निष्क्रिय रहँदा र उसप्रति सद्भाव राख्दा पनि यस परिस्थितिमा कुनै परिवर्तन आउने छैन । 

जनरल हको विचारले सैन्य दृष्टिकोण प्रस्तुत गरेको र चीनका नागरिक नेताहरूले यस विषयमा सार्वजनिक बयान दिएका छैनन् । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उनी देखापर्नु कुनै दैवसंयोग हैन । 

चीनको सन्देश स्पष्ट छ : बेइजिङ लडाइँ गर्न खोजिरहेको छैन तर कोरियाली युद्धको ऐतिहासिक विरासत हेर्दा ऊ आफ्नो वरपरको रणनीतिक क्षेत्र जोगाउनका लागि जे पनि गर्न तयार रहेको देखिन्छ । 
 

आरटीमा प्रकाशित टम फाउडीको विश्लेषण

salt training

कमेन्ट गर्नुहोस्