
सिरहामा किशोरी बलात्कारपछि पञ्चायती गरेर घटना गुपचुप गर्ने र बलात्कार आरोपीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश २ प्रहरी र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले सिराहाकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा विष्णुपुर नगरपालिका–१ का २० वर्षीय मुकेश कुमार साह र अन्य ७ जनालाई घटना गुपचुप राख्न पञ्चायती बसेको अभियोगमा पक्राउ गरेको प्रदेश २ प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरज प्रताप सिंहले बताए ।
‘बलात्कार पछि घटना लुकाउन खोज्ने र मुख्य अभियुक्तसहित ८ जनालाई पक्राउ गरेका छौं,’ डीआईजी सिंहले भने ।
त्यस्तै अभियुक्तहरू विष्णुपुर नगरपालिका– १ का ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरबिन्द कुमार साह, ४५ वर्षीय शरुधन साह, ४७ वर्षीय राजकुमार साह, ४१ वर्षीय रामउदागर यादव, ६१ वर्षीय जगरविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्यामसुन्दर यादव समेत पक्राउ परेको डीआईजी सिंहले लोकान्तरलाई बताए ।

उनीहरुलाई प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको टोली सिरहा जिल्लाको विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
असोज १२ गते १६ वर्षीया किशोरी बलात्कृत भएकी थिइन् । बलात्कारपछि ती किशोरीले आफ्ना बुवाआमालाई बताएकी थिइन् भने त्यसपछि गाउँभरी हल्ला भयो ।
घटना ढाकछोप गर्न स्थानीय शत्रुधन साहको घरमा पीडित परिवार र मुकेशको परिवार बोलाइयो ।
गाउँको घटना गाउँमै मिलाउने भन्दै ५ लाख दिने भन्दै सहमति भयो र पञ्चायतले ५ लाखको कपाली तमसुक गरेको पाइएको डीआईजी सिंहले लोकान्तरलाई बताए ।
बलात्कारको घटना मिलापत्र गरेको भन्ने खबर प्रहरीको पुगेपछि संयुक्त टोलीले मुख्य अभियुक्त मुकेश सहित अन्य ७ जनालाई पक्राउ गरेको हो ।