०४ असार २०८३, बिहीबार

भोलिदेखि विद्यालयमै पठनपाठन सञ्चालन गर्ने उपमहानगरको निर्णय

असोज १९, २०७७
भोलिदेखि विद्यालयमै पठनपाठन सञ्चालन गर्ने उपमहानगरको निर्णय
फाइल फोटो

जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका शैक्षिक संस्था भोलि मंगलवारदेखि सञ्चालन गरिने भएको छ ।

जनकपुरधाम उपमहानगरको कार्यपालिका बैठकले संघीय सरकारले तोकेको मापदण्ड तथा निर्देशिकाको शर्तहरू पालना गर्ने शर्तमा ६–१२ कक्षासम्मका विद्यालयमा मंगलवारदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको उपप्रमुख रितादेवी मिश्रले बताइन् ।

शिशु कक्षा र बाल विकासका शिक्षक–शिक्षिकाले विद्यार्थीको घरघर पुगेर ‘होम स्कूलिङ’ गराउने निर्णय गरिएको छ । उपमहानगरपालिकाको शिक्षा शाखाकी अधिकृत अञ्जु पाण्डेका अनुसार संस्थागत विद्यालय तथा सामुदायिक विद्यालयका शिक्षकहरू शिशु र बाल विकासका विद्यार्थीलाई घरमा नै पुगेर पालैपालो शिक्षण सिकाइको कामलाई सञ्चालन गर्ने भनेर निर्णय गरिएको छ । 

१–५ कक्षासम्मका विद्यार्थीको लागि पनि टोलमै पुगेर कुनै स्थान खोजेर पढाउने काम शुरू गर्ने भनेर निर्णय गरिएको छ । विभिन्न टोलमा १०–१५ जना विद्यार्थीको समूह बनाएर नजिकको सामुदायिक भवन वा अन्य कुनै स्थान खोजेर त्यहाँ शिक्षण सिकाइको काम सञ्चालन गर्ने निर्णय गरिएको पाण्डेले बताइन् । विद्यार्थीको पठनपाठन लामो समयदेखि अवरुद्ध भएको अवस्थामा सिकाइ तथा शैक्षिणस्तर वृद्धि गराउनका लागि सिकाइको वैकल्पिक विधि अपनाइएको उनले बताइन् ।

‘विद्यालयमा भौतिक दूरीलाई कायम गर्दै एउटा कक्षामा २५ जना विद्यार्थी राखेर पठनपाठन सञ्चालन गर्ने भनेर निर्णय गरिएको छ,’ उपप्रमुख मिश्रले भनिन्, ‘प्रत्येक दिन अनिवार्य विषयको ३ घण्टा मात्र पढाइ हुनेछ ।’ विद्यार्थी संख्या बढी भएको विद्यालयमा २ शिफ्ट विद्यालय सञ्चालन गर्ने समेत निर्णय भएको छ । त्यसले पनि पुगेन भने बहुकक्षा विधि अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ ।

प्रत्येक विद्यालयमा विद्यार्थी तथा शिक्षकले मास्क लगाउनुपर्ने, साबुन पानीको व्यवस्था हुनुपर्ने निर्णय समेत गरिएको छ । तोकिएको मापदण्ड पूरा नगरेर विद्यालय सञ्चालन गरेको पाइएमा कारबाही हुने निर्णय भएको उपप्रमुख मिश्रले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्