
प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्तावमाथि छलफलका क्रममा संसद्मा केही रोचक घटना देखिएका छन् ।
कांग्रेस सांसदले कुर्सी भाँचेपछि मर्यादापालकले कुर्सी र सोफाका चकटीले सभामुखलाई सुरक्षा दिए ।
केही सांसद् बोलेपछि सभामुख पूर्णबहादुर घर्तीले छलफल सकिएको घोषणा गरे । सभामुखले छलफल सकिएको घोषणा गर्दा पनि सांसदहरूले हात उठाएर समय माग गरिरहेका थिए ।
त्यसपछि सभामुख घर्तीले प्रस्तावमाथि संशोधन राख्नका लागि १८ घण्टाको समय तोक्दै छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिए ।
मन्त्री रोस्ट्रममा गएर बोल्न थालेपछि एकजना मर्यादापालकले रोस्ट्रमको अगाडि आएर सोफाको खोल हातमा समातेर सुरक्षा दिएका थिए ।
मन्त्री आफैंले रोस्ट्रमबाट बाहिर आएर मर्यादापालकलाई हातले समाएर परपट्टि धकेले ।
‘समातेर हाल, घिसारेर निकाली हाल’ भनेर निर्देशन दिए । मन्त्री केसीले बोलेको आवाज माइकमा प्रस्ट सुनिएको थियो ।
कांग्रेसको विरोधप्रति कटाक्ष गर्दै मन्त्री केसीले विरोधको शैली देख्ने हो भने बीपीले समेत लाज मान्ने टिप्पणी गरे ।