
सरकारले तोकेको मापदण्ड पूरा गरेर मात्र भारतीय कामदारलाई काममा लगाउने सिरहाका इँटा उद्योगी व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।
सरकारले उद्योग सञ्चालन गर्न अनुमति दिएसँगै सिरहाका इँट्टा उद्योगी व्यवसायीले स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा नगरी धमाधम भारतीय मजदुरलाई काममा लगाउन थालेका छन् । जसका कारण जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै गोलबजार नगरपालिकाको पहलमा भएको छलफलमा इँटा उद्योगी व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्र भारतीय मजदुरहरुलाई काममा लगाउने प्रतिबद्धता जनाएका छन् ।
भारतबाट आउने सम्पूर्ण मजदुरहरुलाई क्वारेन्टिनमा राखेर पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेलाई मात्र काममा लगाउने र सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर मात्र काममा लगाउने इँटा उद्योगी व्यवसायीहरुले प्रतिबद्धता जनाएको गोलबजार नगरपालिकाका प्रवक्ता उमेश बरालले जानकारी दिए । इँटा उद्योगमा कुनै बालबालिकालाई श्रममा नलगाउन समेत प्रतिबद्धता जनाएको प्रवक्ता बरालले बताए ।
गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहको अध्यक्षतामा भएको छलफलमा इँटा व्यवसायी संघका केन्द्रीय सचिव चन्द्रदेव यादव, संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साह, उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष भारत अग्रवाल र गोलबजार नगर कार्यपालिकाका सदस्यको उपस्थिति थियो ।