
श्रीमानको कुटाइबाट गम्भीर घाइते बनेकी खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरीको उपचार गर्न लैजाने क्रममा बाटैमा मृत्यु भएको छ ।
घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो ढुङ्गाले लागेर गम्भीर घाइते बनेकी ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजानेक्रममा आज बाटैमा मृत्यु भएको हो ।
आफ्नै घरमा श्रीमानको कुटाइ खाएकी ज्ञानकुमारी ज्यान जोगाउन भाग्दै गएर छिमेकी खड्ग गिरीको घरमा पुगेपछि बेहोस भएर ढलेको स्थानीय बासिन्दाले बताएका छन् । छिमेकीकामा पुगेर ढल्नासाथ बेहोस भएकी उनलाई स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल दिक्तेल लगेकामा उपचार सम्भव नभएपछि थप उपचारमा काठमाडौँ लैजानेक्रममा हलेसी नजिकै खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका भाइ पदम पुरीले जानकारी दिए ।
आफूले प्रहार गरेको लोहोरोले लागेर श्रीमती बेहोस भएपछि श्रीमान डम्बरबहादुर भने फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । फरार डम्बरबहादुरको खोजी कार्यका लागि प्रहरी चौकी तालखर्क र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको चिमरियाले बताए ।