१२ साउन २०८३, मंगलबार

जनतासँग माफी माग्दै रोए किम जोङ उन (भिडियो)

जनतासँग माफी माग्दै रोए किम जोङ उन (भिडियो)

उत्तर कोरियाका नेता किम जोङले कोरोनाभाइरस लगायतका संकटका बेलामा देशलाई सही दिशानिर्देश गर्न नसकेको भन्दै आँसु चुहाउँदै माफी मागेका छन् । 

यसरी किमले माफी माग्नु दुर्लभ घटना हो । 

सत्तारूढ वर्कर्स पार्टीको ७५औं वर्षगाँठका अवसरमा आइतवार आयोजित विशाल सैन्य परेडलाई सम्बोधन गर्दै किमले चश्मा खोले अनि आँसु पुछे । उनको सरकारमाथि दबाब बढिरहेको संकेत यसबाट पाइएको विश्लेषकहरूले बताएका छन् । 

‘जनताले आकाशभन्दा अग्लो अनि समुद्रभन्दा गहिरो विश्वास ममाथि राखेका छन् तर मैले यस विश्वासमा खरो उत्रिन सकिरहेको छैन,’ उनले बताए । ‘त्यसका लागि म हृदयदेखि नै माफी माग्छु ।’

आफ्ना पिता र हजुरबुवालाई उद्धृत गर्दै किमले थपे, ‘दुई महान् कमरेडहरू किम इल–सुङ र किम जोङ–इलको आदर्शलाई पछ्याउँदै यस देशको नेतृत्व गर्ने जिम्मेवारी मलाई दिइएको भए पनि मेरो प्रयास र इमान्दारिता हाम्रा जनताको जीवनको दुःखकष्टलाई मुक्त गर्न पर्याप्त छैन ।’

राजधानी प्योङयाङमा आयोजित उक्त परेडमा अनपेक्षित रूपमा नयाँ अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रदर्शन गरिएको थियो । 

किमले उक्त अवसरमा आफ्नो सम्बोधनको अधिकांश भाग उत्तर कोरियाली जनताको सहानुभूति बटुल्नका लागि खर्च गरेको विश्लेषकहरूले बताएका छन् । 

सम्बोधनमा ‘गम्भीर चुनौती’, ‘अनगन्ती कठिनाइहरू’ र ‘अभूतपूर्व विपत्तिहरू’ जस्ता खतरनाक शब्दावली परेको पाइएको छ । 

उत्तर कोरियाको सबभन्दा धेरै व्यापार चीनसँग हुन्छ तर कोरोना महामारीका कारण सीमाहरू बन्द गर्नुपर्दा व्यापारमा नाटकीय कमी आएको छ । प्योङयाङले देशमा कोरोनाको एउटा पनि घटना नभएको बताएको छ । 

किमले आणविक र क्षेप्यास्त्र कार्यक्रमहरू चलाइरहेकाले अन्तर्राष्ट्रिय प्रतिबन्ध कायम छन् । त्यससँगै प्राकृतिक विपतका कारण क्षति पुगेकाले पनि किमका समस्याहरू बढेर गएका छन् । 

‘यस्तो अवसरमा उनले किन आँसु चुहाए भन्ने विषयमा विचार गर्नु महत्त्वपूर्ण छ,’ कोरियन इन्स्टिच्युट फर नेसनल युनिफिकेसनको नर्थ कोरिया डिभिजनका निर्देशक होङ मिनले बताए । ‘किमको नेतृत्वमा चुनौती आइरहेको भन्ने यस सन्देशको निहितार्थ हो ।’

उत्तर कोरियाको सैन्य शक्तिको प्रमाणस्वरूप सैनिक, क्षेप्यास्त्र र ट्यांकहरू प्रदर्शन गरिएको भए पनि किमले कोभिड–१९ का कारण संसारभरि दुःख पाइरहेका मानिसको समर्थन गरे अनि दक्षिण कोरियासँगको सम्बन्ध सुधार्ने आशा व्यक्त गरे । 
 

किमले आफूहरूमाथि जोखिम आइलागेमा आणविक शक्ति पूर्णतया परिचालन गर्ने भनी सम्बोधनका क्रममा चेतावनी दिए तर वाशिङटनलाई सीधासीधा आलोचना गरेनन् ।

salt training

कमेन्ट गर्नुहोस्