
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावका लागि संसदीय दलमा हस्ताक्षर बुझाएका नेकपा सांसदहरूको मंगलवार बस्ने भनिएको बैठक प्रभावित भएको छ ।
माधव नेपाल पक्षका सांसदहरू बैठकमा उपस्थित नभएपछि शाहीविरुद्धको हस्ताक्षर अभियान निष्प्रभावी बन्ने देखिएको छ ।
दिउँसो १ बजे बस्ने भनिएको बैठकमा १० जना सांसद मात्र उपस्थित भएका थिए । प्रकाश ज्वालासहित माधव नेपाल समूहका सांसदहरू आजको बैठकमा उपस्थित भएनन् ।
उनीहरू उपस्थित नभएपछि बैठक बस्न नसकेको एक सांसदले बताए । यद्यपि नेपाल समूहका सुशील थापा बैठकस्थलमा पुगेका थिए ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि हस्ताक्षर अभियान संकलन गरेको भन्दै शाहीले मुख्य सचेतक गुलावजंग शाहलाई हिजो प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरिसकेका छन् ।
प्रमुख सचेतकमा नियुक्त सीता नेपालीले कात्तिक ७ गतेका लागि संसदीय दलको बैठक बोलाएकी छन् ।
कर्णालीमा उत्पन्न विवाद समाधानका लागि अहिले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ ।