लहान, २७ वैशाख– अङकुसे लगाई विद्युत चुहावट गर्ने १९ जनालाई मङ्गलबार पक्राउ गरी विद्युत प्राधिकरण वितरण केन्द्र लहानले कारबाही गरेको छ ।
विद्युत प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका क्रममा विद्युतीय सामग्रीसहित पक्राउ गरेका १९ जनाबाट रु ९५ हजार जरिवाना असुल गरिएको छ ।
टोलीले सिरहाको उत्तरवर्ती क्षेत्रमा रहेको लहान नगरपालिकाको बस्तीपुर, गोविन्दपुर र धनगढीमाई नगरपालिकाको विष्णुपुरकटीबाट १९ जना पक्राउ गरेको विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादवले जानकारी दिए ।
पक्राउ परेकाबाट खेतमा सिँचाइ गर्ने पाँचथान पानी तान्ने मोटर, पङ्खा, मेसिन, फ्रिज टिभीलगायत सामग्रीसमेत बरामद गरिएको प्रमुख यादवले बताए । लहान इलाकामा करिब ४०।४४ प्रतिशतभन्दा बढी विद्युत चुहावट भइरहेकाले अनुगमनमा कडाइ गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ ।