०६ असार २०८३, शनिबार

नेपालमा फेसबूकसँग वर्ल्डलिंकको साझेदारी, ७ हजार ५०० स्थानमा एक्सप्रेस वाईफाई

नेपालमा फेसबूकसँग वर्ल्डलिंकको साझेदारी, ७ हजार ५०० स्थानमा एक्सप्रेस वाईफाई

वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले फेसबूकसँगको साझेदारी घोषणा गरेको छ । 

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक (आईएसपी) रूपमा रहेको वर्ल्डलिंकले आफ्ना प्रयोगकर्तालाई छिटो, किफायती र भरपर्दो वाईफाई सेवाका लागि फेसबूक कनेक्टिभिटी (जडान) गर्न साझेदारी घोषणा गरेको हो । साझेदारीसँगै ७ हजार ५०० वाईफाई हटस्पट थप गर्ने योजना वल्र्डलिंकको छ । 

वर्ल्डलिंकका अनुसार एक्सप्रेस वाईफाईले वर्ल्डलिंकलाई नेपालभर अवस्थित १० हजार वाईफाई हटस्पर्टमध्ये ७ हजार ५०० वाईफाई हटस्पटलाई सहयोग र बलियो बनाउनेछ ।  अहिले वल्र्डलिंकले सन् २०१८ देखि १० हजार सार्वजनिक ठाउँमार्फत ५ लाखभन्दा बढी ग्राहकलाई निःशुल्क वाईफाई सेवा दिइरहेकोमा अब ७ हजार ५०० स्थानमा एक्सप्रेस वाईफाई हुन लागेको हो । सेवाले निम्न वर्ग र कनेक्सन कम भएको ठाउँमा वाईफाई सर्भिस सञ्चालन गर्न सहयोग गर्ने र यसलाई दीर्घकालीन योजनाका रुपमा अगाडि बढाउन फेसबूकसँग सहकार्य गरेको कम्पनीले जनाएको छ ।

सहकार्यसँगै वर्ल्डलिंक नेपालभर सार्वजनिक क्षेत्रमा इन्टरनेट सेवाको दीगो विस्तार गर्नका लागि अझ सबल बनेको छ । सन् २०३३ सम्ममा मुलुकमा ३० हजार ठाउँमा सार्वजनिक वाईफाई सञ्चालन गर्ने योजना वर्ल्डलिंकको छ ।

साझेदारीको माध्यमबाट वर्ल्डलिंकले फेसबूक कनेक्टिभिटीको एक्सप्रेसको प्लेटफर्ममार्फत नेपालको वाईफाईको वर्तमान अवस्थामा अझ सुधारका लागि निर्माण, सञ्चालन र वृद्धिका लागि सहयोग गर्ने जनाएको छ । वर्ल्डलिंकका प्रबन्ध निर्देशक दीलिप अग्रवालले वल्र्डलिंक नेपालका दुर्गम सहितका क्षेत्रका प्रयोगकर्ताको लागि इन्टरनेटको पहुँच वृद्धि गरी डिजिटल डिभाइडको पुलको रुपमा अघि बढ्न सक्षम रहेको बताए ।

‘फेसबूकसँगको साझेदारी र एक्सप्रेस वाईफाईको विकासले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) बढावा दिन तथा इन्टरनेट जडान नभएका र विपन्न वर्गलाइै सहयोग पुर्‍याउने छ,’ उनले भने, ‘यसले एकै समयमा हरेक व्यक्ति र ठाउमा छिटो, भरपर्दो र सस्तो रुपमा सेवा दिएर हाम्रो सार्वजनिक वाईफाइ सेवा सुधार गर्नेछ ।’

फेसबूकका मोबाइल साझेदारीका निर्देशक करण खारालो उच्चस्तरीय इन्टरनेट पहुँच रोजगारीका साथै शिक्षा, स्वास्थ्य सेवासहितको सुनिश्चितताका लागि अत्यावश्यक वस्तु रहेको बताउँदै एक्सप्रेस वाईफाई प्लेटफर्मको साथमा वर्ल्डलिंक नेपालमा वाईफाई विस्तारलाई दीगो बनाउन सक्षम हुने बताए । वर्ल्डलिंकसँगको साझेदारीलाई निरन्तरता दिने पनि उनले बताए । 

सन् १९९५ मा शुरू भएर २ वर्षपछि इमेल, १९९९ मा भिस्याट हुँदै सन् २००० देखि काठमाडौं बाहिरबाट समेत इन्टरनेट सेवा अघि बढाएको वर्ल्डलिंक सूचना प्रविधि क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनी र सबैभन्दा धेरै रोजगारी दिने कम्पनी हो । मुलुकमा खपत हुने कूल व्यान्डविथमध्ये ४३ प्रतिशत हिस्सा ओगेटेको वर्ल्डलिंक  आर्थिक वर्ष २०७६/७७ मा १० औं ठूलो करदाता कम्पनी पनि हो ।

फेसबूकसँगको साझेदारीपछि इन्टरनेटको सेवाविस्तारमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्