०१ साउन २०८३, शुक्रबार

उत्तर कोरियाका शासक किम जोङ उनको आँसु यथार्थ कि नाटक ?

असोज २७, २०७७
उत्तर कोरियाका शासक किम जोङ उनको आँसु  यथार्थ कि नाटक ?

शक्तिशाली र ठूला नेताहरू पनि रुन्छन् । उत्तर कोरियामा सत्तारूढ वर्कर्स पार्टीको स्थापनाको ७५औं वर्षगाँठमा आयोजित समारोहमा किम जोङ उन रोएपछि यो कुरा प्रमाणित भएको छ । 

उत्तर कोरियाका जनताले अनगन्ती कठिनाइहरूको सामना गरेको भन्दै उनले आभार प्रकट गर्ने क्रममा आँसु चुहाएका थिए । 

किमले उत्तर कोरियाली जनताको जीवन सुधार्नका लागि सफल नभएकोमा पनि माफी मागे जुन अभूतपूर्व कुरा हो । 

उत्तर कोरियालीहरू र संसारका मानिसहरूका लागि प्रसारित भिडियोमा किमको आँसु इमान्दार थियो त ? कि यो फगत नाटक थियो ? यसको उत्तर सम्भवतः एकजनाले मात्र दिन सक्छ । 

ती हुन् किम यो जोङ जसलाई किमको निकटतम सहयोगी र उत्तरको दोस्रो शक्तिशाली नेता मानिन्छ । आफ्ना दाइको सार्वजनिक छवि निर्माणमा उनी नै जिम्मेवार छिन् भनिन्छ । 

कठोर छवि बनाएका राष्ट्रिय नेताहरूले पनि रणनीतिक रूपमा यदाकदा सार्वजनिक स्थलमा आँसु चुहाउनु त्यति असाधारण कुरा हैन । सन् २०१९ को जुन महिनामा पुंसत्वका प्रतिमूर्ति भ्लादिमिर पुटिनले राष्ट्रको नाममा टीभी सम्बोधन गर्ने क्रममा आँखामा आँसु ल्याएका थिए । 

देशको भ्रमणमा जाँदा एक वृद्धाले उनलाई सहयोगका लागि अनुरोध गर्दै एक कागज थमाएकी थिइन् तर पुटिनका सहयोगीहरूले त्यो कागज हराए । ‘उनको अनुरोध पत्र हराएकोमा म अझैसम्म लज्जान्वित छु,’ पुटिनले रुसीहरूलाई बताए । 

किम जोङ उनसँग संसारको सबभन्दा दमनकारी राज्य संयन्त्र छ र उनी त्यसको उपयोग गर्न हिचकिचाउँदैनन् । एक कुख्यात घटनाक्रममा उनले आफ्नै फुपाजुलाई भ्रष्टाचार र बेइमानीको आरोपमा मृत्युदण्डको सजाय दिएका थिए । 

तर उनी जनताको बफादारिता कमाउनका लागि उनीहरूसमक्ष पुग्ने र उनीहरूको जीवन सुधारको प्रतिज्ञा गर्ने गर्दा शासन चलाउन सहज हुन्छ भन्ने मान्यता राख्छन् । 

किमले आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका राष्ट्रपिता किम इल सुङबाट छविनिर्माणको रणनीति सिकेको देखिन्छ । इल सुङ जनताका प्रतिनिधि मानिन्थे र अहिलेसम्म पनि उत्तर कोरियालीहरू उनलाई सम्मान गर्छन् । 

सार्वजनिक सम्बन्ध बनाउने क्रममा किमलाई हजुरबुवाको जस्तो अनुहारले पनि फाइदा गरेको छ तर हजुरबुवाले नातिले भेट्ने प्रयास पनि गरेका थिएनन् । 

किम जोङ उनले हजुरबुवाको जस्तो स्तरमा जनताको माया पाएका छैनन् तर एउटा क्षेत्रमा उनले हजुरबुवालाई सजिलै पछि पारेका छन् । त्यो भनेको उत्तर कोरियाको सैन्य शक्ति हो । शनिवार मध्यरातको सैन्य परेडमा उत्तर कोरियाकै इतिहासको सबभन्दा विशाल नयाँ हतियार प्रदर्शन गरियो । 

त्यहाँ विशालकाय अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र देखाइयो । कुनै पनि आणविक राष्ट्रसँग भएको यो सबभन्दा ठूलो क्षेप्यास्त्र हो । यसले उत्तर कोरियालीहरूलाई एउटा सन्देश दियो : ‘मुलुकले अहिले अनेकौं कठिनाइ सहनुपरिरहेको छ र अर्थतन्त्र राम्रो अवस्थामा छैन । तर हाम्रा शक्तिशाली हतियारहरूले हामीलाई विश्वका महाशक्तिहरूकै स्तरमा ल्याइपुर्‍याएको छ ।’

यसबाट अमेरिकालाई पनि अप्रत्यक्ष सन्देश गएको छ : हामीले भनेबमोजिमको सम्झौता गर नत्र तिम्रो लस एन्जलस वा न्युयोर्कलाई थर्मोन्युक्लीयर आक्रमणले ध्वस्त बनाइदिन्छौं । तर यसमा एउटा जटिलता छ । 

सन् २०१६ र २०१७ मा किमले अमेरिकामा प्रहार गर्न सक्ने लामो दूरीका विभिन्न क्षेप्यास्त्रहरूको परीक्षण गरेका थिए । त्यसले गर्दा डोनल्ड ट्रम्प उनीसँग तीनपटक भेट्न बाध्य भए तर उत्तर कोरियाको अर्थतन्त्रलाई अपांग बनाउने अन्तर्राष्ट्रिय प्रतिबन्ध हटेको छैन र उनले कुनै आर्थिक लाभ पनि पाएका छैनन् । किमको नयाँ क्षेप्यास्त्र देखेर वाशिङटनले उसको शर्त मान्ने कुनै संकेत छैन । 

किमले उत्तर कोरियालीहरू पार्टीलाई अर्को ७५ वा ७५० वा ७ हजार ५०० वर्षसम्म अनुसरण र प्रतिरक्षा गर्नेछन् भनी आशा व्यक्त गरे । 

शायद उनी सही साबित हुनेछन् । आफ्ना जनताको बलिदानलाई पहिचान गर्ने सहानुभूतिशील तथा विनम्र नेताको शासनमा बस्नु राम्रो हो । अनि ठूला शक्तिहरूसँग मात्र भएको सुन्दर र डरलाग्दा हतियारहरू आफ्नो राष्ट्रले देखाउन पाउँदा पनि गर्वको अनुभूति हुन्छ । 

तर एउटा विन्दुमा पुगेर जनता महान् संघर्षबाट थकित हुने र अर्थोकै चाहियो भन्ने निर्णयमा पुग्ने सम्भावना रहन्छ । त्यस्तो अवस्था चाहिँ कुनै पनि सर्वोच्च नेताका लागि साँच्चै रुन्चे क्षण हुनेछ । 
 

आरटीमा प्रकाशित आरटियोम लुकिनको विश्लेषण
 

salt training

कमेन्ट गर्नुहोस्