२७ जेठ २०८३, बुधबार

१२ करोड बराबरका दमकल र प्रहरी भ्यान हस्तान्तरण

असोज २९, २०७७
१२ करोड बराबरका दमकल र प्रहरी भ्यान हस्तान्तरण

प्रदेश नम्बर १ सरकारले विपद्को समयमा उद्धार कार्यमा प्रयोग गर्न ११ करोड ९५ लाख ४७ हजार रुपैयाँ मूल्य बराबरका दमकल र प्रहरी भ्यान स्थानीय तहलाई बिहीवार उपलब्ध गराएको छ । 

मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रहरी कार्यालय विराटनगरमा बिहीवार आयोजित समारोहमा प्रदेशका ११ जिल्लाका ११ स्थानीय तहलाई ११ थान दमकल र १४ थान प्रहरी भ्यान हस्तान्तरण गरे । केही दिनपछि थप ३ थान प्रहरी भ्यान हस्तान्तरण गर्ने जनाइएको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयको वार्षिक योजनाअन्तर्गत प्रदेशका १४ मध्ये ११ स्थानीय तहमा १/१ वटा एकीकृत सेवा केन्द्र स्थापना गर्न सवारीसाधन उपलव्ध गराइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका कार्यक्रम संयोजक रवि खनालले जानकारी दिए । मन्त्रालयले केही महिनाभित्रै ती सेवा केन्द्रका लागि थप १/१ थान एम्बुलेन्स पनि उपलब्ध गराउन लागेको संयोजक खनालले बताए ।

मुख्यमन्त्री राईले संघीयताका कारण सरकारले दुर्गम क्षेत्रका जनताको शान्ति सुरक्षाका लागि कार्य गर्न सफल भएको बताए । उनले कोरोना महामारी जस्तो विपद्को समयममा जनतालाई सेवा सुविधा र उनीहरूका हितका लागि कार्य गर्न दत्तचितका साथ कार्य गरिरहेको धारणा राख्दै संघीयताका कारण जनतालाई उनीहरूको अधिकार विनियोजन गर्न सकिएको बताए ।

मुख्यमन्त्री राईले जस्तोसुकै विपद्मा सरकार जनताको साथमा छ भन्ने विश्वास दिलाउनु पर्ने उल्लेख गर्दै प्रदान गरिएका साधनस्रोत जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न आग्रह गरे । उनले प्रदेश सरकार मानव जीवनको रक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेकाले आगजनी जस्ता प्राकृतिक विपद् न्यूनीकरण र सुरक्षामा उपलब्ध साधनले महत्त्वपूर्ण योगदान पर्‍याउने बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जनताका हितमा साधनको सदुपयोग गरी सञ्चालन गर्न आग्रह गर्दै जनताका बस्तीको संरक्षण गर्न र सुरक्षा मजबुद बनाउन एकीकृत सेवा केन्द्र प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले एकीकृत सेवा केन्द्र सञ्चालनका क्रममा आवश्यक पर्ने जनशक्ति प्रदेश सरकारले प्रबन्ध गर्ने र व्यवस्थापनका लागि प्रत्येक एकाइलाई ५ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने जानकारी दिए ।

मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले सेवा केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नमूना कार्यविधि तयार पारिरहेको बताए । प्रदेशका १४ मध्ये ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुबाहेकका जिल्लामा रहने गरी दमकल र प्रहरी भ्यान हस्तान्तरण गरिएको हो ।

उदयपुरको रौतामाई, भोजपुरको हतुवागढी, मोरङको कानेपोखरी, इलामको देउमाई, झापाको कमल गाउँपालिका, धनकुटा नगरपालिका, सुनसरीको कोशी गाउँपालिका, तेह्रथुमको आठराई गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका र पाँचथरको फिदीम नगरपालिकालाई साधन हस्तान्तरण गरिएको हो । एकीकृत सेवा केन्द्र स्थानीय तहको अधिनमा रहने गरी प्रदेश प्रहरी अन्तर्गतको स्थानीय युनिटले परिचालन गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्