नवनियुक्त सञ्चारमन्त्री पार्वत गुरुङले डिजिटल नेपालको अभियान साकार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीवार मन्त्रालयमा आयोजित पदबहाली कार्यक्रममा बोल्दै मन्त्री गुरुङले डिजिटल नेपाल अभियान साकार पार्न मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका हुन् ।
उनले पद बहालीको क्रममा दूरसञ्चावर नीति, ब्रोडव्याण्ड नीति, सूचना प्रविधि नीति तथा साइवर सुरक्षा नीति निर्माण गर्न निर्देशक समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेर पद बहाली गरेका थिए ।
'डिजिटल नेपाल अभियान सफल पार्न म प्रतिबद्ध छु,' उनले भने, यसका लागि सरोकारवाला निकायहरुको निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गर्छु ।
उनले अहिले कोभिड-१९ का कारण पठनपाठन र शैक्षिक क्रियाकलाप अवरुद्ध भईरहेको सन्दर्भमा मन्त्रालयले अग्रणी भूमिका निभाउनु पर्ने जिम्मेवारी प्राप्त भएकोले नेपालका सवै भूभागमा इन्टरनेट सेवा प्रवाहका लागि सूचना प्रविधिको प्रयोगमा जोड दिइने बताए ।
मन्त्रालय सम्वद्ध १८ वटा निकायहरुलाई तोकिएको जिम्मेवारीलाई असल परम्परा, संस्कार र अभ्यासका आधारमा बहन गर्नुपर्ने कुरामा उनले जोड दिए ।
सूचना प्रवाह सहि भएन भने समाजमा द्धन्द, अनुशासनहीनता र अराजकता बढ्ने हुँदा कोभिड-१९ को यस संकटको घडिमा सहि सूचना सम्प्रेषण गरिदिन सवै सञ्चार माध्यमहरुलाई उनले आग्रह गरे ।